२०८३ असार १३

मौसम पूर्वानुमान

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र तथा गण्डकी प्रदेशका केही र लुम्बिनी प्रदेशको पूर्वी भेगका केही स्थानमा मनसुन सक्रिय रहेको छ। बाँकी क्षेत्रमा भने पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका बाँकी क्षेत्रसँगै कर्णाली र सुदूरपश्चिम प्रदेशमा आगामी चारदेखि पाँच दिनभित्र मनसुन विस्तार हुने सम्भावना रहेको छ।

हाल देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने तराई क्षेत्रमा आंशिक बदली देखिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो हिमाली तथा पहाडी क्षेत्रका साथै मधेश प्रदेश र कोशी प्रदेशको तराई क्षेत्रमा सामान्य बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने अनुमान पनि गरिएको छ।

यस्तै, कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो हावा चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।

रातिको समयमा पनि कोशी प्रदेशको तराई, मधेश प्रदेशका केही स्थान, बागमती र गण्डकी प्रदेशका तराईका केही क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।

महाशाखाले विशेषगरी कोशी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले त्यसबाट हुन सक्ने बाढी, पहिरो तथा डुबानजस्ता जोखिमप्रति सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ।