२०८३ असार १३

स्पेनको जितसँगै विश्वकपको नकआउट चरणमा प्रवेश, केप भर्डेले पनि बनायो इतिहास

काठमाडौं । एलेक्स बाएनाको निर्णायक गोलमा स्पेनले उरुग्वेलाई पराजित गर्दै विश्वकप फुटबलको नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।

मेक्सिकोको ग्वाडालाजारमा सम्पन्न समूह चरणको खेलमा स्पेनले उरुग्वेलाई १–० गोलअन्तरले पराजित गरेको हो। स्पेनका लागि एलेक्स बाएनाले खेलको ४१औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।

यस जितसँगै स्पेनले तीन खेलबाट सात अङ्क जोड्दै समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ।

आजै सम्पन्न अर्को खेलमा केप भर्डे र साउदी अरेबियाबीचको प्रतिस्पर्धा गोलरहित बराबरीमा सकिएको छ। बराबरीसँगै केप भर्डेले समूह चरण तीनवटै खेल बराबरी खेल्दै तीन अङ्क जोडेको छ।

विश्वकपमा पहिलोपटक सहभागी भएको केप भर्डे समूह उपविजेताका रूपमा नकआउट चरणमा प्रवेश गर्दै ऐतिहासिक सफलता हासिल गर्न सफल भएको छ।