२०८३ जेष्ठ २७

रास्वपाले बोलाएको सर्वदलीय बैठकमा प्रचण्ड अनुपस्थित रहने, कुन दलबाट को-को सहभागी हुँदैछन् ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ। सिंहदरबारस्थित संसद् सचिवालयको सार्वजनिक लेखा समितिको हलमा हुने बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरू तथा प्रतिनिधिहरू सहभागी हुने भएका छन्।

बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय सरोकारका विषय र दलहरूबीचको समन्वयका मुद्दामा छलफल हुने जनाइएको छ। प्रत्येक दलबाट अध्यक्ष वा सभापतिसहित बढीमा दुई जना प्रतिनिधि सहभागी हुन सक्ने व्यवस्था गरिएको छ।

बैठकमा नेपाली कांग्रेसका तर्फबाट संसदीय दलका नेता भीष्मराज आङ्देम्बे सहभागी हुनेछन् भने एमालेले प्रमुख सचेतक ऐनबहादुर महरलाई पठाउने निर्णय गरेको छ।

यता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने बैठकमा उपस्थित नहुने भएका छन्। स्वास्थ्य अवस्था अनुकूल नभएका कारण उनी बैठकमा सहभागी हुन नसक्ने जनाइएको छ।

प्रचण्डको अनुपस्थितिमा नेकपाको प्रतिनिधित्व सहसंयोजक माधवकुमार नेपाल र नेता वर्षमान पुनले गर्ने तय भएको छ।

रास्वपाको पहलमा हुन लागेको यो बैठकलाई पछिल्लो राजनीतिक घटनाक्रमका बीच दलहरूबीच संवाद र सहकार्यको प्रयासका रूपमा हेरिएको छ।