काठमाडौँ । स्थानीय तहलाई संविधानले सुनिश्चित गरेको अधिकार पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने माग गर्दै जनमत पार्टीले सोमबार काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।
पार्टीका नेता, कार्यकर्ता र समर्थकहरूको सहभागिता रहेको प्रदर्शनमा स्थानीय सरकारको स्वायत्तता कमजोर बनाइएको भन्दै सरकारविरुद्ध नाराबाजी गरिएको थियो। प्रदर्शनकारीहरूले ‘स्थानीय सरकारलाई अधिकार दे’, ‘स्वायत्तताको वाचा पूरा गर’ लगायतका सन्देश लेखिएका प्लेकार्ड बोकेका थिए।
जनमत पार्टीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्मअनुसार स्थानीय तहलाई निर्णय गर्ने अधिकार, आवश्यक स्रोत–साधन र कार्यान्वयन क्षमता उपलब्ध गराउनुपर्ने माग गरेको छ। उनीहरूले निर्वाचनका बेला गरिएका प्रतिबद्धता अझै पूरा नभएको आरोप लगाउँदै स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउन सरकार गम्भीर हुनुपर्ने बताएका छन्।
माइतीघरमा भएको प्रदर्शनका क्रममा सहभागीहरूले सङ्घीयताको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै स्थानीय तहको अधिकार कटौती गर्ने कुनै पनि प्रयास स्वीकार्य नहुने चेतावनी दिएका थिए।
जनमत पार्टीले आफ्ना मागप्रति सरकारले बेवास्ता गरे थप सशक्त आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने संकेत समेत दिएको छ।




