काठमाडौं । निरन्तर वर्षाका कारण रोशी खोलामा पानीको बहाव उच्च भएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गमा सवारी आवागमन बन्द गरिएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार मंगलबार मध्याह्नदेखि बनेपा, पनौती, धुलिखेल, नमोबुद्ध तथा रोशी नदीको माथिल्लो जलाधार क्षेत्रमा अत्यधिक वर्षा भइरहेको छ।
माथिल्लो क्षेत्रमा परेको वर्षाका कारण रोशी खोलाको जलस्तर निरन्तर बढ्दै गएको र बाढीको जोखिम समेत उच्च बनेको प्रहरीले जनाएको छ। यात्रु तथा सवारीसाधनको सुरक्षालाई प्राथमिकतामा राख्दै बीपी राजमार्गअन्तर्गत काभ्रे खण्डमा सञ्चालन हुने सबै प्रकारका सवारीसाधनको आवागमन तत्कालका लागि रोकिएको हो।
प्रहरीका अनुसार राजमार्ग प्रयोग गर्ने सवारीसाधनलाई काभ्रेको धुलिखेल क्षेत्रमा तथा सिन्धुली प्रहरीसँगको समन्वयमा खुर्कोट र नेपालथोकमा रोकिएको छ।
प्रहरीले सर्वसाधारण तथा यात्रुहरूलाई सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गर्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।




