२०८३ श्रावण १२

त्रिवि व्यवस्थापन संकायको प्रश्नपत्र चुहावट प्रकरणमा थप दुई जना पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गतको परीक्षाको प्रश्नपत्र गोपनीयता भंग गरेको आरोपमा नेपाल प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार शिक्षा ऐन, २०२८ अन्तर्गत अनुसन्धान भइरहेको घटनामा संलग्न रहेको आशंकामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

सीआईबीका अनुसार २०८३ साउन ८ गते त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सेमेस्टरको ‘एमजीटी ५१५ : संगठनात्मक व्यवहार’ विषयको प्रश्नपत्र विभिन्न ह्वाट्सएप समूहमा सार्वजनिक भएको थियो। त्यसपछि प्रश्नपत्रको गोपनीयता भंग भएको विषयमा प्रहरीले अनुसन्धान थालेको थियो।

अनुसन्धानका क्रममा सीआईबीले विभिन्न स्थानबाट थप दुई जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा रौतहटको राजदेवी नगरपालिका–४ का २५ वर्षीय अतुल कुमार मिश्र रहेका छन्। उनलाई साउन १० गते काठमाडौं महानगरपालिका–१३ ताहाचलबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

त्यस्तै, बारा लिपनीमाल–१ घर भई हाल पर्साको वीरगञ्ज महानगरपालिका–२१ बस्दै आएका ३१ वर्षीय अब्दुल सानि हाकिमलाई साउन ११ गते वीरगञ्ज महानगरपालिका–८ बाट पक्राउ गरिएको सीआईबीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेकाहरूमाथि अदालतबाट अनुमति लिएर थप अनुसन्धान भइरहेको छ। घटनामा संलग्न अन्य व्यक्तिको पहिचान र कानुनी प्रक्रिया अघि बढाउने काम भइरहेको ब्युरोले जनाएको छ।