२०८३ श्रावण १२

स्वास्थ्य सेवा बन्द नगर्न अस्पताललाई मन्त्रालयको निर्देशन

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पताल तथा स्वास्थ्य संस्थालाई कुनै पनि अवस्थामा स्वास्थ्य सेवा बन्द नगर्न निर्देशन दिएको छ।

नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणपछि आकस्मिकबाहेकका सेवा बन्द गर्ने तयारी भइरहेका बेला मन्त्रालयले उपचार सेवा निरन्तर सञ्चालन गर्न आग्रह गरेको हो।

मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमणमा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउने प्रक्रिया अघि बढिरहेको जनाएको छ। घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायले प्रक्रिया अगाडि बढाइरहेको मन्त्रालयको भनाइ छ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मंगलबार जारी गरेको विज्ञप्तिमा पछिल्ला दिनमा चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि भएका आक्रमणप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्।

घाइते चिकित्सकलाई काठमाडौं ल्याइयो

नारायणी अस्पतालमा भएको आक्रमणपछि स्वास्थ्य मन्त्री निशा मेहताले घाइते चिकित्सक डा. प्रमोद रामलाई थप उपचारका लागि काठमाडौं ल्याउने व्यवस्था मिलाएकी थिइन्। उनले ट्रमा सेन्टर पुगेर चिकित्सक रामको स्वास्थ्य अवस्थाबारे जानकारीसमेत लिएकी थिइन्।

मन्त्री मेहताले घटनामा संलग्न दोषीमाथि कडा कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिएकी छन्। स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन मन्त्रालयले आवश्यक पहल गरिरहेको जनाएको छ।

Read More

सुख्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङ बजार क्षेत्र नजिकै सुख्खा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करिब साढे ८ बजे पहिरो खसेपछि सडकमा सवारी आवागमन रोकिएको हो। पहिरोका कारण दुवैतर्फका सवारीसाधन रोकिएका छन्।

प्रहरीका अनुसार सडकमा खसेको पहिरो हटाउन काम सुरु गरिएको छ। पहिरो पन्छाउन करिब दुई घण्टा लाग्ने अनुमान गरिएको छ।

नारायणगढ–मुग्लिन सडकखण्डमा वर्षायाम तथा सुख्खा मौसममा समेत पहिरो खस्ने समस्या देखिँदै आएको छ। यसअघि पनि इच्छाकामना गाउँपालिका–५ आसपासका क्षेत्रमा पहिरोका कारण पटक–पटक सडक अवरुद्ध भएको थियो।

Read More

ब्रेक फेल भएर ट्रक दुर्घटना, आगलागीमा चालकको मृत्यु

काठमाडौं । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारस्थित तमोर–करिडोर सडकखण्डमा ट्रक दुर्घटना हुँदा चालकको जलेर मृत्यु भएको छ। ब्रेक फेल भएर सडकको भित्तामा ठोक्किएपछि ट्रकमा अचानक आगलागी भएको प्रहरीले जनाएको छ।

विराटनगरबाट ताप्लेजुङतर्फ जलविद्युत् आयोजनाका सामग्री बोकेर जाँदै गरेको प्र १–०२–००१ क ५३६३ नम्बरको लोबेड ट्रक दुर्घटनामा परेको हो। ब्रेक फेल भएपछि अनियन्त्रित बनेको ट्रक सडकको भित्तामा ठोक्किँदा आगलागी भएको थियो।

घटनाको जानकारी पाएलगत्तै अस्थायी प्रहरी पोस्ट फलामेटार र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। आगलागीमा परी ट्रक चालक भोजपुरका ३० वर्षीय विशाल राईको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ट्रकमा लागेको आगोबाट बच्न चालक राई बाहिर निस्किए पनि गम्भीर रूपमा जलेर उनको मृत्यु भएको हो। दुर्घटनामा ट्रकका सह–चालक तेह्रथुमको म्याङ्लुङ नगरपालिका–९ निवासी १८ वर्षीय सञ्जीव सङ्गौला भने सकुशल रहेका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

Read More

अमेरिका–इरान तनावबीच ट्रम्पद्वारा वार्ताबाट समाधानको संकेत

काठमाडौं । अमेरिका र इरानबीच बढेको तनावका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशबीच ‘मित्रवत कुराकानी’ भइरहेको बताएका छन्। पछिल्ला तीन दिनदेखि दुवै पक्षबाट कुनै आक्रमण नभएको उल्लेख गर्दै ट्रम्पले कूटनीतिक प्रयासमार्फत युद्ध अन्त्य हुने सम्भावना रहेको बताएका हुन्।

एयर फोर्स वानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानसँगको द्वन्द्व अन्त्यका लागि सकारात्मक वातावरण बनेको दाबी गरे। तर, वार्ता निष्कर्षमा पुग्न नसकेमा अमेरिकाले यसअघि अपनाएको सैन्य कारबाही पुनः सुरु गर्न सक्ने चेतावनीसमेत दिएका छन्।

इरानले भने अमेरिकासँग प्रत्यक्ष संवाद भइरहेको भन्ने ट्रम्पको भनाइलाई पुष्टि गरेको छैन। ट्रम्पका अनुसार मध्यस्थता गरिरहेका केही देशहरूले वार्ताका लागि थप समय दिन आग्रह गरेपछि शुक्रबार इरानमाथि गर्ने भनिएको अमेरिकी आक्रमण रोकिएको थियो। त्यसपछि इरानले पनि आफ्नोतर्फबाट भइरहेका आक्रमणहरू स्थगित गरेको बताइएको छ।

करिब दुई सातासम्म अमेरिका र इरानबीच चलेको आक्रमण र प्रतिआक्रमणपछि पछिल्लो युद्धविरामको अवस्था आएको हो। ती घटनाले यसअघि जुन महिनामा भएको युद्धविरामलाई प्रभावहीन बनाएको थियो।

अमेरिकी सेनाले यसअघि इरानको सैन्य क्षमतामाथि गरिएको कारबाहीको उद्देश्य होर्मुज स्ट्रेट हुँदै जाने व्यापारिक जहाजहरूको सुरक्षामा देखिएको जोखिम कम गर्नु रहेको जनाएको थियो।

Read More

बजेट कार्यान्वयनमा कडाइ गर्दै महालेखा, खर्च र वित्तीय अनुशासनका लागि नयाँ निर्देशन

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले चालू आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन सरकारी निकायलाई नयाँ नीतिगत निर्देशन जारी गरेको छ। खर्च निकासा, बजेट व्यवस्थापन, प्रतिवेदन, आन्तरिक लेखापरीक्षण तथा वित्तीय अनुशासन कायम गर्न विभिन्न व्यवस्था लागू गर्न महालेखाले निर्देशन दिएको हो।

महालेखाको मार्गदर्शनअनुसार मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबीआईएस) मा स्वीकृत बजेट तथा कार्यक्रमलाई आधार मानी एकल खाता कोष प्रणालीमार्फत भुक्तानी निकासा गर्नुपर्नेछ। विनियोजित बजेटको प्रभावकारी उपयोग सुनिश्चित गर्न खर्च हुन नसक्ने रकम फिर्ता गर्ने समयसीमासमेत तोकिएको छ।

मार्गदर्शनमा वार्षिक स्वीकृत कार्यक्रमका लागि विनियोजन गरिएको बजेट २०८३ फागुन मसान्तसम्म खर्च नभएमा वा बाँकी अवधिमा खर्च गर्न नसकिने भएमा त्यस्तो रकम २०८३ चैत १५ गतेभित्र अर्थ मन्त्रालयमा अनिवार्य रूपमा समर्पण गर्नुपर्ने उल्लेख छ। यस व्यवस्थाको कार्यान्वयन भए/नभएको अनुगमन गरिने महालेखाले जनाएको छ।

त्यस्तै, एलएमबीआईएसमा कुनै आयोजना वा कार्यक्रम दोहोरिएको पाइएमा एउटाको बजेट रोक्का गरी अर्थ मन्त्रालयमा समर्पण गरेपछि मात्र अर्को कार्यक्रमको भुक्तानी खुला गरिने व्यवस्था गरिएको छ।

कर्मचारीको तलब र प्रोत्साहन भत्ताबारे स्पष्ट व्यवस्था

महालेखाले कर्मचारीको सेवासुविधा र प्रोत्साहन भत्ताको व्यवस्थासमेत स्पष्ट पारेको छ। चालू आर्थिक वर्षको बजेट वक्तव्यअनुसार राष्ट्रसेवक कर्मचारीको साविक तलबमानमा १० प्रतिशत वृद्धि गरिएको र अर्थ मन्त्रालयबाट नयाँ तलबमान स्वीकृत भएपछि सोहीअनुसार निकासा दिइने जनाएको छ।

यसैगरी, नयाँ तलबमानको १० प्रतिशत मासिक प्रोत्साहन भत्ता दोस्रो त्रैमासिक अवधिसम्मका लागि यकिन गरी रकमान्तरमार्फत तलब भुक्तानीकै समयमा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।

तर, २०७६ साल साउन १ गतेपछि स्थायी नियुक्त भएका कर्मचारीका लागि लागू गरिएको योगदानमूलक निवृत्तभरण प्रणालीअन्तर्गत भने उपदान भुक्तानी नहुने व्यवस्था गरिएको छ। योगदानमूलक निवृत्तभरण योजना लागू भएका कर्मचारीले निवृत्तभरण कोष ऐन २०७५ अनुसार सञ्चयकोषमा रहेको रकम, ब्याज र मुनाफा प्राप्त गर्ने भएकाले छुट्टै उपदान नदिइने महालेखाले जनाएको छ।

संघीय आयोजना र अनुदान व्यवस्थापनमा नयाँ व्यवस्था

संघीय संरचनाअनुसार प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण हुने आयोजनाको रकम व्यवस्थापनलाई पनि मार्गदर्शनले व्यवस्थित गरेको छ। संघबाट प्रदेश वा स्थानीय तहमा हस्तान्तरण भएका आयोजनाको रकम सम्बन्धित तहको सञ्चित कोषमा आम्दानी नबाँधी सम्बन्धित कार्यालय कोडमार्फत नै भुक्तानी निकासा गरिनेछ।

वित्तीय समानीकरण अनुदान भदौ २, कात्तिक २, माघ २ र वैशाख २ गरी चार किस्तामा हस्तान्तरण गरिनेछ। तेस्रो र चौथो किस्ता प्राप्त गर्न अघिल्ला किस्ताको खर्च विवरण बुझाउनुपर्ने अनिवार्यता गरिएको छ।

स्थानीय तहका सबै आर्थिक कारोबारको बजेटिङ, लेखांकन र प्रतिवेदन अनिवार्य रूपमा ‘सूत्र’ प्रणालीमार्फत गर्नुपर्ने व्यवस्था पनि गरिएको छ।

वैदेशिक सहायता र ठूलो भुक्तानीमा निगरानी

वैदेशिक सहायता अन्तर्गत सञ्चालित आयोजनामा ऋण वा अनुदान सम्झौता प्रभावकारी नभएसम्म बजेट खर्च गर्न नपाइने व्यवस्था गरिएको छ। वैदेशिक सहायताका आयोजनाको लेखांकन र स्रोत व्यवस्थापनका लागि प्रोजेक्ट एकाउन्टिङ मोड्युल (पाम) प्रयोग गरिनेछ।

यस्तै, एक अर्ब रुपैयाँभन्दा बढी रकम भुक्तानी गर्नुपर्ने अवस्थामा भुक्तानी दिनुभन्दा कम्तीमा सात दिनअघि अर्थ मन्त्रालयलाई अनिवार्य जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ।

प्रशासनिक खर्च घटाउन निर्देशन

महालेखाले सरकारी निकायलाई प्रशासनिक खर्चमा मितव्ययिता अपनाउन समेत निर्देशन दिएको छ। खाली रहेका सरकारी भवन प्रयोग गर्न, व्यापारिक क्षेत्र तथा मुख्य सडक आसपास महँगो घर भाडामा नलिन र आवश्यक सुविधा मात्र भएको भवन प्रयोग गर्न भनिएको छ।

इन्धन, मर्मतसम्भार, भ्रमण, गोष्ठी तथा भत्तालगायतका खर्चमा अधिकतम मितव्ययिता अपनाउन निर्देशन दिइएको छ। साथै आर्थिक वर्षको अन्तिम सातामा भुक्तानी निकासा बन्द गरी वित्तीय अनुशासन कायम गर्न देशभरका कोष तथा लेखा नियन्त्रक कार्यालयलाई निर्देशन दिइएको छ।

अर्थ मन्त्रालयले साउन १ गते नै सबै सरकारी कार्यालयमा बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शन पठाएको थियो। सोही आधारमा महालेखा नियन्त्रक कार्यालयले विनियोजन ऐन २०८३, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ र सम्बन्धित नियमावलीको सीमाभित्र रहेर वित्तीय कारोबार सञ्चालन गर्न निर्देशन दिएको हो।

Read More

देवानगन्ज हिंसात्मक घटनाको छानबिन गर्न गृह मन्त्रालयको समिति सक्रिय

काठमाडौं । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको हिंसात्मक घटनाको छानबिनका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय समितिले अनुसन्धान प्रक्रिया सुरु गरेको छ। समितिले विराटनगर पुगेपछि उपचाररत घाइतेसँग बयान लिनुका साथै घटनासँग सम्बन्धित प्रमाण संकलन थालेको हो।

सुरक्षा स्रोतका अनुसार गोली लागेर घाइते भएका चार जनाको विराटनगरस्थित न्युरो अस्पताल, चार जनाको विराट नर्सिङ होम र एक जनाको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। समितिका सदस्यहरूले तीनवटै अस्पताल पुगेर घाइतेसँग घटनाको विवरण लिएका छन्।

गृह मन्त्रालयमा सोमबार बसेको केन्द्रीय सुरक्षा बैठकपछि सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो। समितिलाई सात दिनभित्र घटनाको छानबिन गरी प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।

समितिले उपचाररत घाइते, पीडित पक्ष, प्रत्यक्षदर्शी तथा उपलब्ध प्रमाणका आधारमा घटनाको वास्तविकता पत्ता लगाउने जनाएको छ। अब समितिले देवानगन्जको कप्तानगन्ज पुगेर घटनास्थलको निरीक्षण गर्ने, प्रत्यक्षदर्शीसँग जानकारी लिने तथा सुरक्षा निकायबाट प्राप्त विवरण र भिडियोसहितका प्रमाण अध्ययन गर्ने तयारी गरेको छ।

छानबिनपछि घटनामा संलग्न वा जिम्मेवार देखिएका व्यक्ति तथा निकायमाथि कानुनी कारबाहीका लागि सरकारलाई सिफारिस गरिने गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयले समितिलाई निष्पक्ष, तथ्यमा आधारित र विश्वसनीय छानबिन गर्न निर्देशन दिएको छ।

देवानगन्ज–३ कप्तानगन्जमा दुई समूहबीच भएको विवाद हिंसात्मक बनेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो। घटनामा एक जनाको मृत्यु भएपछि क्षेत्रको अवस्था तनावग्रस्त बनेको थियो। त्यसपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो भने कर्फ्यु अवधिमा कप्तानगन्ज, इनरुवा लगायतका क्षेत्रमा आगजनी, तोडफोड, आक्रमण र कुटपिटका घटना भएका थिए।

हाल कर्फ्यु हटाइए पनि कप्तानगन्ज केन्द्रित निषेधाज्ञा भने कायम रहेको छ। गृह मन्त्रालयले छानबिन प्रतिवेदनका आधारमा घटनाको कारण, सुरक्षा व्यवस्थापनमा भएका कमजोरी र जिम्मेवार पक्षको पहिचान गरी आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया अघि बढाउने जनाएको छ।

Read More

विद्यालयको आवासीय भवनमा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

काठमाडौं । झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ। सर्लाही लालबन्दी–२ की २९ वर्षीया कविताकुमारी ढुङ्गाना मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

ढुङ्गाना आफ्ना श्रीमान् ३० वर्षीय रतन गुप्तासँग विद्यालय परिसरभित्र रहेको आवासीय कोठामा बस्दै आएकी थिइन्। पर्साको वीरगञ्ज–१६ निवासी गुप्ता र ढुङ्गाना दुवै जना गत वैशाखदेखि सोही विद्यालयमा अध्यापन गर्दै आएका थिए।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन्। विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर लुइँटेलका अनुसार साउन ५ गतेदेखि विद्यालय बिदामा रहेको थियो। सोमबार विद्यालय सञ्चालनका क्रममा दुवै शिक्षक सम्पर्कमा नरहेको थाहा भएपछि खोजी सुरु गरिएको थियो।

उनीहरू बस्दै आएको कोठामा बाहिरबाट ताला लागेको र फोन सम्पर्कसमेत हुन नसकेको प्रधानाध्यापक लुइँटेलले बताए। उनका अनुसार दिनभर सम्पर्क नभएपछि सोमबार साँझ करिब ४ः३० बजे रतन गुप्ताले वाट्सएपमार्फत सन्देश पठाएका थिए। उक्त सन्देशमा श्रीमती कोठाभित्र झुन्डिएको अवस्थामा फेला परेको, आफूले शव अर्को कोठामा सारेको र डरका कारण त्यहाँबाट निस्किएको उल्लेख गर्दै ताला खोली कानुनी प्रक्रिया पूरा गरिदिन आग्रह गरिएको थियो।

स्थानीयवासीका अनुसार गुप्तालाई आइतबार साँझ करिब ५ बजेतिर दुईवटा झोला बोकेर विद्यालयबाट बाहिरिँदै गरेको देखिएको थियो। त्यसपछि उनी सम्पर्कमा नरहेको बताइएको छ।

प्रहरीले घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरेको जनाएको छ। प्रहरी नायब उपरीक्षक अवालेका अनुसार मृत्युको कारण यकिन भइसकेको छैन। शव परीक्षणलगायतका प्रक्रिया पूरा गरी घटनाको सबै पक्षबाट अनुसन्धान भइरहेको र सम्पर्कविहीन रहेका श्रीमान्को खोजीसमेत जारी रहेको प्रहरीले जनाएको छ।

Read More

चिकित्सक संघद्वारा देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गर्ने घोषणा

काठमाडौं । नेपाल चिकित्सक संघले आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेको छ। वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र तोडफोडको विरोधमा संघले ओपिडी लगायतका नियमित स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको हो।

संघले नारायणी अस्पतालका डा. प्रमोद रामसहित घाइते चिकित्सकमाथि आक्रमण गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेको छ। साथै घटनाप्रति जिम्मेवार देखिएका पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखमाथि समेत कारबाही गर्न संघले माग गरेको छ।

आन्दोलनका थप कार्यक्रम आज बस्ने सर्वपक्षीय भेलाबाट तय गरिने संघले जनाएको छ। आन्दोलनका कारण बिरामीलाई पर्न सक्ने असुविधाप्रति क्षमा माग्दै त्यसको जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने संघको भनाइ छ।

घाइते मेडिकल अफिसर डा. रामलाई थप उपचारका लागि काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको छ। सोमबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ट्रमा सेन्टर पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन्। नारायणी अस्पतालमा भएको घटनाप्रति मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

Read More

प्रतिबन्धित वस्तुको बिक्रीवितरण नगर्न वाणिज्य विभागको चेतावनी

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रतिबन्ध लगाइएका वस्तुको अनधिकृत बिक्रीवितरण नगर्न सम्बन्धित व्यवसायीलाई सचेत गराएको छ। निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ अनुसार कुनै वस्तुको निकासी वा पैठारीमा रोक लगाउन वा नियन्त्रण गर्न सक्ने कानुनी व्यवस्था रहेको स्मरण गराउँदै विभागले कानुनविपरीतका गतिविधि नगर्न आग्रह गरेको हो।

विभागले पैठारीकर्ता, सञ्चयकर्ता तथा बिक्रेतालाई प्रचलित कानुनले तोकेका दायित्व र सर्तहरूको पालना गर्दै व्यापार व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको छ। प्रतिबन्धित वस्तुको कारोबार वा अन्य कानुनविपरीतका कार्य भएको पाइएमा निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३, उपभोक्ता संरक्षण ऐन, २०७५ तथा अन्य प्रचलित कानुनअनुसार कारबाही गरिने विभागले जनाएको छ।

बजारमा स्वच्छता कायम गर्न विभागले अनुगमन तथा निरीक्षणलाई समेत तीव्र बनाएको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ अनुसार बजार अनुगमन गरी आवश्यक निर्देशन तथा कारबाही प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ।

विभागका अनुसार सोमबार काठमाडौंका विभिन्न नौ वटा व्यावसायिक फर्मको अनुगमन गरिएको थियो। अनुगमनका क्रममा ती फर्मलाई सुधारात्मक निर्देशन दिइएको छ। उपभोक्ता अधिकारकर्मी तथा स्थानीय सरोकारवालाको सहभागितामा नियमित बजार अनुगमन भइरहेको विभागले स्पष्ट पारेको छ।

Read More

असारसम्मको विद्युत् खपतमा भ्याट नलाग्ने, तिरेको रकम आगामी बिलमा समायोजन हुने

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको विद्युत्मा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पारेको छ। आन्तरिक राजस्व विभाग र ठूला करदाता कार्यालयको स्पष्टिकरणपछि असारसम्मको विद्युत् खपतमा भ्याट नलाग्ने र ग्राहकले भुक्तानी गरिसकेको भ्याट रकम आगामी भदौ महिनाको विद्युत् बिलमा समायोजन गरिने प्राधिकरणले जनाएको हो।

प्राधिकरणका अनुसार यसअघि असार महिनाको विद्युत् खपतको बिल साउनमा जारी हुँदा आर्थिक ऐन, २०८३ अनुसार भ्याट लाग्ने वा नलाग्ने विषयमा अन्योल उत्पन्न भएको थियो। त्यसपछि प्राधिकरणले साउन ८ गते आन्तरिक राजस्व विभाग र ठूला करदाता कार्यालयसँग यस विषयमा स्पष्टिकरण मागेको थियो।

आन्तरिक राजस्व विभागले सोमबार जारी गरेको सूचनामार्फत असार मसान्तसम्मको विद्युत् उपभोग वा खपतको बिलमा भ्याट नलाग्ने जनाएको छ। त्यसअनुसार ग्राहकबाट असुल गरिएको भ्याट रकमलाई अग्रिम भुक्तानीका रूपमा गणना गरी आगामी भदौ महिनाको बिलमा समायोजन गरिने व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ।

यद्यपि, साउन १ गतेदेखि भएको विद्युत् खपतमा भने भ्याट लागू हुने विभागले स्पष्ट गरेको छ। विभागका अनुसार विद्युत् शक्तिको खपत, न्यूनतम चार्ज (डिमाण्ड चार्ज) लगायतका शुल्कमा मूल्य अभिवृद्धि कर ऐनअनुसार अन्तिम उपभोक्ताका लागि ५ प्रतिशत र अन्य उपभोक्ताका हकमा १३ प्रतिशत भ्याट लाग्नेछ।

यसअघि प्राधिकरणले असार मसान्तसम्मको विद्युत् बिलमा समेत भ्याट जोडेर बिल पठाएपछि उपभोक्ताबाट व्यापक गुनासो आएको थियो।

Read More