काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पताल तथा स्वास्थ्य संस्थालाई कुनै पनि अवस्थामा स्वास्थ्य सेवा बन्द नगर्न निर्देशन दिएको छ।
नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणपछि आकस्मिकबाहेकका सेवा बन्द गर्ने तयारी भइरहेका बेला मन्त्रालयले उपचार सेवा निरन्तर सञ्चालन गर्न आग्रह गरेको हो।
मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमणमा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउने प्रक्रिया अघि बढिरहेको जनाएको छ। घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायले प्रक्रिया अगाडि बढाइरहेको मन्त्रालयको भनाइ छ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मंगलबार जारी गरेको विज्ञप्तिमा पछिल्ला दिनमा चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि भएका आक्रमणप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्।
घाइते चिकित्सकलाई काठमाडौं ल्याइयो
नारायणी अस्पतालमा भएको आक्रमणपछि स्वास्थ्य मन्त्री निशा मेहताले घाइते चिकित्सक डा. प्रमोद रामलाई थप उपचारका लागि काठमाडौं ल्याउने व्यवस्था मिलाएकी थिइन्। उनले ट्रमा सेन्टर पुगेर चिकित्सक रामको स्वास्थ्य अवस्थाबारे जानकारीसमेत लिएकी थिइन्।
मन्त्री मेहताले घटनामा संलग्न दोषीमाथि कडा कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिएकी छन्। स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन मन्त्रालयले आवश्यक पहल गरिरहेको जनाएको छ।




