काठमाडौं । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारस्थित तमोर–करिडोर सडकखण्डमा ट्रक दुर्घटना हुँदा चालकको जलेर मृत्यु भएको छ। ब्रेक फेल भएर सडकको भित्तामा ठोक्किएपछि ट्रकमा अचानक आगलागी भएको प्रहरीले जनाएको छ।
विराटनगरबाट ताप्लेजुङतर्फ जलविद्युत् आयोजनाका सामग्री बोकेर जाँदै गरेको प्र १–०२–००१ क ५३६३ नम्बरको लोबेड ट्रक दुर्घटनामा परेको हो। ब्रेक फेल भएपछि अनियन्त्रित बनेको ट्रक सडकको भित्तामा ठोक्किँदा आगलागी भएको थियो।
घटनाको जानकारी पाएलगत्तै अस्थायी प्रहरी पोस्ट फलामेटार र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। आगलागीमा परी ट्रक चालक भोजपुरका ३० वर्षीय विशाल राईको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ट्रकमा लागेको आगोबाट बच्न चालक राई बाहिर निस्किए पनि गम्भीर रूपमा जलेर उनको मृत्यु भएको हो। दुर्घटनामा ट्रकका सह–चालक तेह्रथुमको म्याङ्लुङ नगरपालिका–९ निवासी १८ वर्षीय सञ्जीव सङ्गौला भने सकुशल रहेका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।



