काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङ बजार क्षेत्र नजिकै सुख्खा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करिब साढे ८ बजे पहिरो खसेपछि सडकमा सवारी आवागमन रोकिएको हो। पहिरोका कारण दुवैतर्फका सवारीसाधन रोकिएका छन्।
प्रहरीका अनुसार सडकमा खसेको पहिरो हटाउन काम सुरु गरिएको छ। पहिरो पन्छाउन करिब दुई घण्टा लाग्ने अनुमान गरिएको छ।
नारायणगढ–मुग्लिन सडकखण्डमा वर्षायाम तथा सुख्खा मौसममा समेत पहिरो खस्ने समस्या देखिँदै आएको छ। यसअघि पनि इच्छाकामना गाउँपालिका–५ आसपासका क्षेत्रमा पहिरोका कारण पटक–पटक सडक अवरुद्ध भएको थियो।




