२०८३ श्रावण १३

गुरु पूर्णिमा आज: गुरुको सम्मान र व्यास जयन्ती विविध कार्यक्रमसहित मनाइँदै

काठमाडौं । आषाढ शुक्ल पूर्णिमाका अवसरमा आज देशभर गुरु पूर्णिमा श्रद्धा र सम्मानका साथ मनाइँदै छ। ज्ञान, शिक्षा र संस्कार प्रदान गर्ने गुरुहरूप्रति कृतज्ञता व्यक्त गर्ने परम्पराअनुसार विद्यालय, गुरुकुल तथा विभिन्न संघसंस्थाले विशेष कार्यक्रम आयोजना गरेका छन्।

हिन्दू परम्पराअनुसार गुरुले अज्ञानको अन्धकार हटाएर ज्ञानको प्रकाश फैलाउने भएकाले गुरुको स्थान अत्यन्त उच्च मानिन्छ। शास्त्रहरूमा गुरुलाई ब्रह्मा, विष्णु र महेश्वरसरह सम्मान गरिएको छ भने “आचार्यदेवो भव” भन्ने मान्यताले पनि गुरुको महत्त्वलाई स्पष्ट पार्छ।

गुरु पूर्णिमाकै दिन महर्षि वेदव्यासको जन्मजयन्ती अर्थात् व्यास जयन्ती पनि मनाइन्छ। वेदव्यासले वेदलाई चार भागमा विभाजन गर्नुका साथै १८ पुराण, १८ उपपुराण तथा महाभारतको रचना गरेको विश्वास गरिन्छ। उनका ग्रन्थहरूले परोपकार, मानवता र नैतिक जीवनको सन्देश दिएको धार्मिक विश्वास छ।

यस अवसरमा देशभरका धार्मिक तथा शैक्षिक संस्थाले गुरुको सम्मानमा विशेष कार्यक्रम आयोजना गरेका छन्। नेपाल महर्षि वैदिक फाउन्डेसनले पनि चम्पादेवीस्थित ब्रह्मानन्द सरस्वती ग्राममा गुरु पूर्णिमा विशेष समारोह आयोजना गरेको जनाएको छ।