२०८३ श्रावण १३

विश्व बाघ दिवस आज: नेपालले सार्वजनिक गर्दै नयाँ बाघ गणनाको नतिजा

काठमाडौं। विश्व बाघ दिवसका अवसरमा नेपालले आज पछिल्लो राष्ट्रिय बाघ गणनाको नतिजा सार्वजनिक गर्दैछ। कृषि, वन तथा वातावरण मन्त्रालयले मन्त्री गीता चौधरीको उपस्थितिमा बाघको अद्यावधिक संख्या सार्वजनिक गर्ने कार्यक्रम तय गरेको छ।

नेपालमा हरेक चार वर्षमा बाघ गणना गर्ने परम्परा छ। सन् २०२२ को राष्ट्रिय गणनाअनुसार देशभर ३५५ वटा पाटेबाघ रहेका थिए। त्यतिबेला सबैभन्दा धेरै बाघ चितवन राष्ट्रिय निकुञ्जमा १२८, बर्दिया राष्ट्रिय निकुञ्जमा १२५, पर्सामा ४१, शुक्लाफाँटामा ३६ र बाँकेमा २५ वटा गणना गरिएको थियो।

संरक्षण क्षेत्रको विस्तार, बासस्थानमा सुधार र आहारा प्रजातिको वृद्धि भएकाले यसपटक बाघको संख्या अझ बढ्ने अपेक्षा गरिएको छ। नेपालले सन् २०१० मा १२१ वटा रहेको बाघको संख्या बढाएर सन् २०२२ मा ३५५ पुर्‍याउँदै विश्वमै सफल बाघ संरक्षणको उदाहरण प्रस्तुत गरेको छ।

हाल नेपालमा बाघ तराईका पाँच राष्ट्रिय निकुञ्ज–चितवन, बर्दिया, पर्सा, बाँके र शुक्लाफाँटा तथा तिनका आसपासका वन क्षेत्रमा पाइन्छ। सरकारले तीन महिनासम्म स्वचालित क्यामेरा र वैज्ञानिक विधिबाट पछिल्लो राष्ट्रिय सर्वेक्षण सम्पन्न गरेको हो।

यद्यपि बाघको संख्या बढेसँगै मानव–बाघ द्वन्द्व, बासस्थान व्यवस्थापन र समस्याग्रस्त बाघको संरक्षण चुनौतीका रूपमा देखिएका छन्। हाल देशभर १६ समस्याग्रस्त बाघ विभिन्न इन्क्लोजरमा राखिएका छन्। तिनको दीर्घकालीन व्यवस्थापनका लागि सरकारले चितवनको देवनगरमा ‘टाइगर सेन्चुरी’ निर्माणको योजना अघि बढाएको छ।

विश्व बाघ दिवस प्रत्येक वर्ष जुलाई २९ मा मनाइन्छ। बाघ संरक्षणको आवश्यकता र प्राकृतिक बासस्थान जोगाउने उद्देश्यका साथ सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा भएको बाघ शिखर सम्मेलनपछि यो दिवस मनाउन थालिएको हो।