२०८३ श्रावण १३

अमेरिका–इरान तनावबीच ट्रम्पद्वारा वार्ताबाट समाधानको संकेत

काठमाडौं । अमेरिका र इरानबीच बढेको तनावका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशबीच ‘मित्रवत कुराकानी’ भइरहेको बताएका छन्। पछिल्ला तीन दिनदेखि दुवै पक्षबाट कुनै आक्रमण नभएको उल्लेख गर्दै ट्रम्पले कूटनीतिक प्रयासमार्फत युद्ध अन्त्य हुने सम्भावना रहेको बताएका हुन्।

एयर फोर्स वानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानसँगको द्वन्द्व अन्त्यका लागि सकारात्मक वातावरण बनेको दाबी गरे। तर, वार्ता निष्कर्षमा पुग्न नसकेमा अमेरिकाले यसअघि अपनाएको सैन्य कारबाही पुनः सुरु गर्न सक्ने चेतावनीसमेत दिएका छन्।

इरानले भने अमेरिकासँग प्रत्यक्ष संवाद भइरहेको भन्ने ट्रम्पको भनाइलाई पुष्टि गरेको छैन। ट्रम्पका अनुसार मध्यस्थता गरिरहेका केही देशहरूले वार्ताका लागि थप समय दिन आग्रह गरेपछि शुक्रबार इरानमाथि गर्ने भनिएको अमेरिकी आक्रमण रोकिएको थियो। त्यसपछि इरानले पनि आफ्नोतर्फबाट भइरहेका आक्रमणहरू स्थगित गरेको बताइएको छ।

करिब दुई सातासम्म अमेरिका र इरानबीच चलेको आक्रमण र प्रतिआक्रमणपछि पछिल्लो युद्धविरामको अवस्था आएको हो। ती घटनाले यसअघि जुन महिनामा भएको युद्धविरामलाई प्रभावहीन बनाएको थियो।

अमेरिकी सेनाले यसअघि इरानको सैन्य क्षमतामाथि गरिएको कारबाहीको उद्देश्य होर्मुज स्ट्रेट हुँदै जाने व्यापारिक जहाजहरूको सुरक्षामा देखिएको जोखिम कम गर्नु रहेको जनाएको थियो।