काठमाडौं । झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ। सर्लाही लालबन्दी–२ की २९ वर्षीया कविताकुमारी ढुङ्गाना मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
ढुङ्गाना आफ्ना श्रीमान् ३० वर्षीय रतन गुप्तासँग विद्यालय परिसरभित्र रहेको आवासीय कोठामा बस्दै आएकी थिइन्। पर्साको वीरगञ्ज–१६ निवासी गुप्ता र ढुङ्गाना दुवै जना गत वैशाखदेखि सोही विद्यालयमा अध्यापन गर्दै आएका थिए।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन्। विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर लुइँटेलका अनुसार साउन ५ गतेदेखि विद्यालय बिदामा रहेको थियो। सोमबार विद्यालय सञ्चालनका क्रममा दुवै शिक्षक सम्पर्कमा नरहेको थाहा भएपछि खोजी सुरु गरिएको थियो।
उनीहरू बस्दै आएको कोठामा बाहिरबाट ताला लागेको र फोन सम्पर्कसमेत हुन नसकेको प्रधानाध्यापक लुइँटेलले बताए। उनका अनुसार दिनभर सम्पर्क नभएपछि सोमबार साँझ करिब ४ः३० बजे रतन गुप्ताले वाट्सएपमार्फत सन्देश पठाएका थिए। उक्त सन्देशमा श्रीमती कोठाभित्र झुन्डिएको अवस्थामा फेला परेको, आफूले शव अर्को कोठामा सारेको र डरका कारण त्यहाँबाट निस्किएको उल्लेख गर्दै ताला खोली कानुनी प्रक्रिया पूरा गरिदिन आग्रह गरिएको थियो।
स्थानीयवासीका अनुसार गुप्तालाई आइतबार साँझ करिब ५ बजेतिर दुईवटा झोला बोकेर विद्यालयबाट बाहिरिँदै गरेको देखिएको थियो। त्यसपछि उनी सम्पर्कमा नरहेको बताइएको छ।
प्रहरीले घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरेको जनाएको छ। प्रहरी नायब उपरीक्षक अवालेका अनुसार मृत्युको कारण यकिन भइसकेको छैन। शव परीक्षणलगायतका प्रक्रिया पूरा गरी घटनाको सबै पक्षबाट अनुसन्धान भइरहेको र सम्पर्कविहीन रहेका श्रीमान्को खोजीसमेत जारी रहेको प्रहरीले जनाएको छ।



