२०८३ श्रावण १२

देवानगन्ज हिंसात्मक घटनाको छानबिन गर्न गृह मन्त्रालयको समिति सक्रिय

काठमाडौं । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको हिंसात्मक घटनाको छानबिनका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय समितिले अनुसन्धान प्रक्रिया सुरु गरेको छ। समितिले विराटनगर पुगेपछि उपचाररत घाइतेसँग बयान लिनुका साथै घटनासँग सम्बन्धित प्रमाण संकलन थालेको हो।

सुरक्षा स्रोतका अनुसार गोली लागेर घाइते भएका चार जनाको विराटनगरस्थित न्युरो अस्पताल, चार जनाको विराट नर्सिङ होम र एक जनाको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। समितिका सदस्यहरूले तीनवटै अस्पताल पुगेर घाइतेसँग घटनाको विवरण लिएका छन्।

गृह मन्त्रालयमा सोमबार बसेको केन्द्रीय सुरक्षा बैठकपछि सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो। समितिलाई सात दिनभित्र घटनाको छानबिन गरी प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।

समितिले उपचाररत घाइते, पीडित पक्ष, प्रत्यक्षदर्शी तथा उपलब्ध प्रमाणका आधारमा घटनाको वास्तविकता पत्ता लगाउने जनाएको छ। अब समितिले देवानगन्जको कप्तानगन्ज पुगेर घटनास्थलको निरीक्षण गर्ने, प्रत्यक्षदर्शीसँग जानकारी लिने तथा सुरक्षा निकायबाट प्राप्त विवरण र भिडियोसहितका प्रमाण अध्ययन गर्ने तयारी गरेको छ।

छानबिनपछि घटनामा संलग्न वा जिम्मेवार देखिएका व्यक्ति तथा निकायमाथि कानुनी कारबाहीका लागि सरकारलाई सिफारिस गरिने गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयले समितिलाई निष्पक्ष, तथ्यमा आधारित र विश्वसनीय छानबिन गर्न निर्देशन दिएको छ।

देवानगन्ज–३ कप्तानगन्जमा दुई समूहबीच भएको विवाद हिंसात्मक बनेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो। घटनामा एक जनाको मृत्यु भएपछि क्षेत्रको अवस्था तनावग्रस्त बनेको थियो। त्यसपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो भने कर्फ्यु अवधिमा कप्तानगन्ज, इनरुवा लगायतका क्षेत्रमा आगजनी, तोडफोड, आक्रमण र कुटपिटका घटना भएका थिए।

हाल कर्फ्यु हटाइए पनि कप्तानगन्ज केन्द्रित निषेधाज्ञा भने कायम रहेको छ। गृह मन्त्रालयले छानबिन प्रतिवेदनका आधारमा घटनाको कारण, सुरक्षा व्यवस्थापनमा भएका कमजोरी र जिम्मेवार पक्षको पहिचान गरी आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया अघि बढाउने जनाएको छ।