२०८३ असार १

धवल–दुर्गा समूहको ‘मेगा प्लान’ सार्वजनिक: पार्टी बनाउनु अघि खडा गर्‍यो २४ विभागीय सेना

काठमाडौँ । नयाँ राजनीतिक दल गठनको तयारीमा रहेका डा. धवलशमशेर राणा र दुर्गा प्रसाईं समूहले संगठनात्मक संरचना मजबुत बनाउन २४ वटा विभिन्न समिति गठन गरेका छन्।

आइतबार बसेको समूहको बैठकले नेताहरूको जिम्मेवारी बाँडफाँट गर्दै पार्टी निर्माणको प्रारम्भिक संरचना औपचारिक रूपमा अघि बढाएको हो। असार पहिलो साताभित्र नयाँ राजनीतिक दल घोषणा गर्ने तयारी भइरहेको समूहका नेताहरूले बताएका छन्।

बृहत् राष्ट्रवादी एकता गर्ने उद्देश्यसहित राणाको नेतृत्वमा रहेको समूह र प्रसाईं नेतृत्वको ‘नागरिक बचाउ महाअभियान, नेपाल’ बीच नयाँ दल निर्माणका लागि यसअघि नै सहमति भइसकेको थियो। सोही सहमतिअनुसार संगठन विस्तार र जिम्मेवारी विभाजन गरिएको हो।

गठन गरिएका २४ समितिहरूमा कार्यदल, वार्ता, सचिवालयदेखि लिएर आर्थिक, कानुनी, सञ्चार, युवा, महिला, श्रम, खेलकुद, प्रवास तथा वातावरणसम्मका विभागहरू समेटिएका छन्।

समूहका अनुसार पार्टी संरचनालाई व्यवस्थित, समावेशी र कार्यमुखी बनाउने उद्देश्यसहित सबै तहमा जिम्मेवारी तोकिएको हो। साथै जेनजी समन्वय, सुकुमबासी समस्या समाधान, लघुवित्त तथा मिटरब्याज पीडितका मुद्दा, भूपू सैनिक समन्वय तथा सुझाव संकलनजस्ता विशेष समिति पनि गठन गरिएको छ।

महत्त्वपूर्ण समितिहरूमा कार्यदल समितिको नेतृत्व मुकुन्द श्याम गिरीले, वार्ता समितिको नेतृत्व राजु आचार्यले, सचिवालयको नेतृत्व सगुन सुन्दर लावतीले र विधान मस्यौदा समितिको नेतृत्व माधव कल्पितले गर्ने भएका छन्।

त्यसैगरी आर्थिक समितिमा दिलविकास भण्डारी, सञ्चार समितिमा क्षितिज सापकोटा, कानुनी परामर्श समितिमा डा. महेन्द्रजंग शाही तथा महिला संयोजन समितिमा अञ्जना शाह रावललाई जिम्मेवारी दिइएको छ।

समूहले आगामी दिनमा संगठन विस्तार र पार्टी घोषणासम्बन्धी थप तयारीलाई तीव्र बनाउने जनाएको छ।