२०८३ असार १

रियो दि जेनेरियोमा आकाशमै दुई हेलिकप्टर ठोक्किँदा ६ जनाको मृत्यु, अनुसन्धान सुरु

काठमाडौँ । ब्राजिलको रियो दि जेनेरियो सहरमा आइतबार बिहान दुई हेलिकप्टर आकाशमै ठोक्किँदा कम्तीमा ६ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन्। दुर्घटना सहरको पश्चिमी उपनगर रेक्रेइओ दोस बान्देरान्तेस क्षेत्रमा भएको हो।

अग्नि नियन्त्रण विभागका अनुसार ठक्करपछि दुवै हेलिकप्टर जमिनमा खस्दै नजिकैको विद्युतीय सवारी साधन बिक्री केन्द्रको पार्किङ क्षेत्रमा पुगेका थिए। दुर्घटनापछि करिब २० वटा विद्युतीय गाडीमा आगलागी भएको जनाइएको छ।

दमकल विभागका प्रवक्ता फाबियो कोन्त्रेइरासका अनुसार विद्युतीय गाडीमा प्रयोग हुने लिथियम–आयन ब्याट्रीमा आगो लाग्दा विषाक्त ग्यास निस्कने र आगो नियन्त्रण गर्न ठूलो मात्रामा पानी आवश्यक पर्ने हुन्छ। उनका अनुसार एउटा हेलिकप्टर जलेको अवस्थामा गाडीहरूबीच फेला परेको थियो, जसमा पाँच जना सवार थिए। अर्को हेलिकप्टर करिब १०० मिटर टाढा भेटिएको र त्यसमा केवल चालक मात्र रहेको बताइएको छ।

दुर्घटनास्थल वरिपरि सयौँ मिटर टाढासम्म हेलिकप्टरका भग्नावशेष छरिएको देखिएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा पार्किङ क्षेत्रबाट बाक्लो धुवाँ आकाशतर्फ उठिरहेको देखिन्छ।

अधिकारीहरूले घटनाको कारण पत्ता लगाउन औपचारिक अनुसन्धान सुरु गरेका छन्। प्रारम्भिक रूपमा दुवै हेलिकप्टर कसरी एकआपसमा ठोक्किए भन्नेबारे स्पष्ट विवरण प्राप्त भएको छैन।

ब्राजिलमा हवाई दुर्घटनाहरू तुलनात्मक रूपमा बढी हुने गरेका छन्। ब्राजिलको विमान दुर्घटना अनुसन्धान तथा रोकथाम केन्द्रका अनुसार यस वर्ष मात्र यस घटनाअघि ८४ वटा हवाई दुर्घटना दर्ता भइसकेका थिए।