२०८३ असार ४

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । देशभर हाल पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त प्रणालीको प्रभावका कारण हिमाली तथा पहाडी भूभागसहित कोशी प्रदेशको तराई क्षेत्रमा सामान्य बदली रहेको छ भने मधेस प्रदेशमा आंशिक बदलीको अवस्था देखिएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि आंशिक बदली रहने अनुमान गरिएको छ। यता लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने मौसम मुख्यतः सफा रहनेछ।

आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै, कोशी प्रदेशको तराईका केही स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

यसैबीच, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तातो दिनको अवस्था कायम रहने सम्भावना रहेको छ।

आज राति पनि देशका हिमाली तथा पहाडी भूभाग तथा कोशी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहने पूर्वानुमान गरिएको छ। रातिको समयमा कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। साथै, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

महाशाखाले कोशी प्रदेशको तराईका केही स्थानमा रातिको समयमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।