२०८३ असार ३

मस्कोस्थित प्रमुख तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन आक्रमण, आगलागी र ठूलो क्षति

काठमाडौं । मङ्गलबार युक्रेनी ड्रोनले मस्कोस्थित एक महत्वपूर्ण तेल प्रशोधन केन्द्रलाई लक्षित गरी आक्रमण गर्दा उक्त क्षेत्रमा आगलागी हुनुका साथै भौतिक क्षति पुगेको रूसी अधिकारीहरूले बताएका छन्। युक्रेनले यो आक्रमण रूसद्वारा गरिएको पछिल्ला आक्रमणहरूको प्रतिआक्रमण भएको पुष्टि गरेको छ।

यो घटना त्यसको एक दिनपछि भएको हो, जब युक्रेनले रूसले देशभरि ६०० भन्दा बढी ड्रोन र ७० मिसाइल प्रहार गरेको दाबी गरेको थियो। उक्त आक्रमणमा कम्तीमा ११ जनाको ज्यान गएको र कीएभस्थित युनेस्को सूचीमा रहेको एक अर्थोडक्स मठ क्षेत्र क्षतिग्रस्त भएको युक्रेनी पक्षले जनाएको थियो।

मस्कोका मेयर सेर्गेई सोब्यानिनका अनुसार पछिल्लो २४ घण्टामा मस्को लक्षित ड्रोन आक्रमण निरन्तर जारी रहेको छ। उनका अनुसार मङ्गलबार मात्र मस्कोतर्फ प्रक्षेपण गरिएका ६० वटा ड्रोनलाई रूसी सुरक्षा प्रणालीले नष्ट गरेको थियो। उनले तेल प्रशोधन केन्द्रमा भएको आक्रमणलाई यस वर्ष राजधानी मस्कोमा भएका सबैभन्दा ठूला आक्रमणहरूमध्ये एक भएको बताए।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उक्त आक्रमण युक्रेनद्वारा गरिएको पुष्टि गरेका छन्। अधिकारीहरूका अनुसार यस घटनाले मस्को क्षेत्र अब युक्रेनको लामो दूरी क्षमताको दायरामा रहेको स्पष्ट संकेत दिएको छ।

सामाजिक सञ्जालमा सार्वजनिक गरिएको भिडियोमा ड्रोनहरू अपार्टमेन्ट भवनमाथि उडिरहेको र औद्योगिक क्षेत्रमा ठोक्किनुअघि विस्फोट भएको दृश्य देखिएको बताइएको छ।

Read More

नेप्से परिसूचक ६.३१ अंकले घट्यो, कारोबारमा मिश्रित अवस्था

काठमाडौँ । मंगलबार सेयर बजार सामान्य अंकले घट्दै बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.३१ अंकले घटेर २७०५.४५ विन्दुमा झरेको हो।

अघिल्लो दिन सोमबार पनि नेप्से १२.२६ अंकले घटेर २७११.७६ विन्दुमा बन्द भएको थियो। लगातार दोस्रो दिनको गिरावटले बजारमा दबाब कायम रहेको देखिएको छ।

मंगलबार ३५५ कम्पनीका १ करोड ७ लाख ८ हजार ५९६ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ४ करोड ७८ लाख ५८ हजार ८४ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रह्यो, जसको करिब ३१ करोड रुपैयाँ बराबरको कारोबार भयो। त्यसपछि सिद्धार्थ बैंकको १८ करोड, रिलायन्स स्पिनिङ मिल्सको १५ करोड, रावा इनर्जी डेभलपमेन्टको १३ करोड तथा बुंगल हाइड्रोको १२ करोड बराबरको कारोबार भएको छ।

यस दिन सोपान फर्मास्युटिकल्स र अपोलो हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा पुगेका छन्।

समग्रमा ८० वटा स्टकको मूल्य बढ्दा १७७ वटा घटेका छन् भने १५ वटा स्थिर रहेका छन्। अधिकांश समूहगत सूचक नकारात्मक रहँदा बजारमा बिक्री दबाब देखिएको छ।

उपसमूहगत रूपमा म्युचुअल फण्ड र ट्रेडिङ समूहबाहेक अन्य सबै समूह सूचक घटेका छन्।

Read More

गंगा रानी मार्फत रोशन केसीको ठुलो पर्दामा डेब्यु, मुख्य भूमिकामा छनोट

काठमाडौँ । कलाकार रोशन केसीले चलचित्र ‘गंगा रानी’ मार्फत ठुलो पर्दामा डेब्यु गर्ने भएका छन्। निर्माण पक्षका अनुसार करिब पाँच सय आवेदकमध्येबाट केसीलाई मुख्य भूमिकाका लागि छनोट गरिएको हो।

यसअघि म्युजिक भिडियोहरूमा अभिनय गरिसकेका केसीले अब पहिलो पटक कथानक चलचित्रमा मुख्य भूमिकामा अभिनय गर्न लागेका हुन्। उनी चलचित्रमा अभिनेत्री वर्षा सिवाकोटीको जोडीको रूपमा देखिनेछन्।

निर्देशक राजबहादुर सानेका अनुसार चलचित्रका लागि बाँकी तीन पुरुष र तीन महिला कलाकार छनोट गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

सानेकै लेखन तथा निर्देशन रहने ‘गंगा रानी’ आहा फिल्मस्को प्रस्तुतिमा निर्माण हुन लागेको हो। चलचित्रका निर्माता कमलप्रसाद शर्मा हुन्।

निर्माण पक्षका अनुसार चलचित्रको छायांकन आगामी भदौको दोस्रो साताबाट सुरु गर्ने तयारी गरिएको छ।

Read More

बाँके राष्ट्रिय निकुञ्जमा पूर्वाधार र लगानी विस्तार गर्न पर्यटन व्यवसायीको आग्रह

काठमाडौं । पर्यटन व्यवसायीहरूले बाँके राष्ट्रिय निकुञ्जमा भौतिक पूर्वाधार विकास तथा होटल–रिसोर्टमा लगानी विस्तार गर्न आग्रह गरेका छन्। उनीहरूले उचित पूर्वाधार विकास भए पर्यटकको बसाइ अवधि बढ्ने र निकुञ्जको पर्यटन सम्भावना अझ प्रभावकारी रूपमा उपयोग गर्न सकिने बताएका छन्।

नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल्स एजेन्ट (नाट्टा) बाँके च्याप्टरको समन्वयमा गरिएको अवलोकन भ्रमणपछि व्यवसायी, उद्योगी तथा भारतीय पर्यटकसहितको टोलीले निकुञ्ज क्षेत्रको पर्यटन प्रवर्द्धनका सम्भावित पक्षबारे छलफल गरेको हो।

नेपालगन्जका उद्योगी सञ्जय अग्रवालले बाँके राष्ट्रिय निकुञ्ज प्रचारप्रसारको अभावमा अपेक्षित रूपमा ओझेलमा परेको उल्लेख गर्दै आकर्षक होटल तथा रिसोर्ट विकासले क्षेत्रको पर्यटन आकर्षण बढाउने बताए। उनका अनुसार निकुञ्जमा आउने पर्यटकका लागि आवास र खानपान सुविधालाई गुणस्तरीय बनाउनु आवश्यक छ।

उनले निकुञ्जको प्राकृतिक सौन्दर्य, हरियाली वातावरण तथा चित्तल, हात्ती र मयुरजस्ता वन्यजन्तुको अवलोकनले पर्यटकलाई विशेष अनुभव दिने उल्लेख गरे।

त्यसैगरी उद्योगी चम्पालाल बोथ्राले निकुञ्जको प्रचारप्रसार बढाएर पर्यटक आगमन उल्लेख्य रूपमा वृद्धि गर्न सकिने धारणा राखे। होटल पौवा प्रालिका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले यस क्षेत्रलाई पर्यापर्यटन (इको–टुरिजम) को केन्द्रका रूपमा विकास गर्न दीर्घकालीन लगानी आवश्यक रहेको बताए।

राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले पर्यटन तथा उद्योग क्षेत्रमा लगानी भित्र्याउन स्थानीय तह सहजीकरण गर्न तयार रहेको बताए।

निकुञ्जकी नेचर गाइड उमा ओलीले चुरे–भावर क्षेत्रसँगै वन्यजन्तु अवलोकनका लागि बाँके राष्ट्रिय निकुञ्ज उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै सडक र हवाई पहुँचका कारण काठमाडौँबाट समेत एक दिनमै भ्रमण सम्भव हुने बताइन्।

नाट्टा बाँके च्याप्टरका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले निकुञ्ज नेपाल–भारत सीमासँग नजिक रहेकाले भारतीय पर्यटक भित्र्याउन सकिने सम्भावना उच्च रहेको बताए। उनले ग्रामीण पर्यटन प्रवर्द्धनसँगै स्थानीय थारू संस्कृति, परिकार र परम्परालाई पनि पर्यटन विकाससँग जोड्न सकिने धारणा राखे।

निकुञ्ज क्षेत्रमा घरबास (होमस्टे) मार्फत अनदी चामलको ढिक्री, आलुको अचार तथा डोक्नीको चटनीजस्ता स्थानीय परिकारले पर्यटकलाई आकर्षित गरिरहेको व्यवसायीहरूले बताएका छन्।

Read More

डीएभी कलेजका विद्यार्थीको मृत्यु, घटनाबारे अनुसन्धान जारी

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित डीएभी कलेजमा अध्ययनरत एक विद्यार्थीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी गौतम मिश्रका अनुसार कक्षा १२ मा अध्ययनरत १८ वर्षीय आर्यन सिंह सोमबार दिउँसो कलेज परिसरमा गम्भीर अवस्थामा फेला परेका थिए। उनलाई तत्काल उपचारका लागि सुमेरू सिटी अस्पताल लगिएको भए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार घटनाअघि विद्यार्थीले आफ्नो कपीमा केही लेखेको भेटिएको छ। उक्त सामग्रीको अध्ययन तथा घटनाका अन्य पक्षबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटनाको कारण र परिस्थितिबारे थप विवरण संकलन गर्ने काम जारी रहेको तथा आवश्यक अनुसन्धानपछि थप तथ्य सार्वजनिक गरिने प्रहरीको भनाइ छ।

शैक्षिक संस्थामा भएको यस घटनाले विद्यार्थी तथा अभिभावकमाझ चासो बढाएको छ। प्रहरीले घटनासँग सम्बन्धित सबै पक्षको अनुसन्धान गरिरहेको जनाएको छ।

Read More

वीरगन्जमा पाँच दिनभित्र संरचना नहटाए फेरि डोजर चलाइने

काठमाडौँ । त्रिभुवन राजमार्गअन्तर्गत वीरगन्जको मुख्य सडक क्षेत्रमा सडक सीमाभित्र रहेका बाँकी घर तथा संरचना हटाउन सडक विभागले अन्तिम चेतावनी दिएको छ। विभागले पाँच दिनभित्र सम्बन्धित घरधनीले आफैं संरचना नहटाए कानुनी प्रक्रियाअनुसार डोजर प्रयोग गरी हटाइने जनाएको छ।

सडक डिभिजन कार्यालय हेटौंडाले मंगलबार सार्वजनिक सूचना जारी गर्दै सिरसिया मितेरी पुलदेखि बहुअरी गण्डक चोकसम्मको सडक खण्डमा सडक सीमा संरक्षण अभियानलाई निरन्तरता दिइने जानकारी दिएको हो। विभागका अनुसार यसअघि गरिएको अतिक्रमण हटाउने कार्यपछि पनि सडक सीमाभित्रका केही संरचना यथावत् रहेकाले थप कारबाहीको तयारी गरिएको छ।

गत वैशाख ६ र ७ गते सडक विभागले उक्त सडक खण्डमा केन्द्ररेखाबाट दायाँ–बायाँ २५–२५ मिटर क्षेत्रभित्र पर्ने करिब १ हजार २०० घर, भवन तथा अन्य संरचनामा डोजर चलाएर आंशिक रूपमा हटाउने काम गरेको थियो। त्यसपछि केही घरधनीले आफैं संरचना भत्काए पनि घण्टाघर, माइस्थान, आदर्शनगर हुँदै अलखियामठ चोकसम्मका अधिकांश भवन अझै हटाइएको छैन।

सडक डिभिजन कार्यालयले क्षतिग्रस्त तथा जोखिमयुक्त भवनमा बसोबास र व्यापार व्यवसाय सञ्चालन नगर्न पनि आग्रह गरेको छ। विभागले जारी गरेको सूचनामा यस्ता संरचनामा बसोबास वा व्यापार जारी राखेर कुनै अप्रिय घटना भए त्यसको जिम्मेवारी सम्बन्धित व्यक्तिमै रहने उल्लेख गरिएको छ।

सडक ऐन, २०३१ अनुसार सडक सीमाभित्र रहेका संरचना हटाउने अधिकार विभागलाई रहेकाले निर्धारित समयभित्र संरचना खाली गर्न सम्बन्धित पक्षलाई पुनः अनुरोध गरिएको छ। विभागले तोकिएको समयसीमा सकिएपछि सडक सीमा संरक्षण कार्यक्रमअन्तर्गत बाँकी संरचना हटाउने स्पष्ट संकेत दिएको छ।

उता, सडक विस्तार अभियानविरुद्ध मुख्य सडक क्षेत्रका घरधनीहरू भने निरन्तर आन्दोलनमा छन्। उनीहरूले सडक विस्तार कार्य तत्काल रोक्न तथा उक्त सडक खण्डलाई ‘शहरी मार्ग’ का रूपमा कायम गर्नुपर्ने माग राख्दै आएका छन्।

वीरगन्जको मुख्य व्यापारिक क्षेत्र समेटिएको यो सडक खण्डमा सडक विस्तारको विषय पछिल्ला महिनादेखि विवादको केन्द्रमा रहँदै आएको छ। विभागको पछिल्लो चेतावनीसँगै सडक विस्तार प्रक्रिया र स्थानीयको विरोधबीचको तनाव थप बढ्ने देखिएको छ।

Read More

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदान कार्यविधि स्वीकृत, कानुनी अन्योल अन्त्य हुने अपेक्षा

काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरेको छ। आयोगको आज बसेको बैठकले उक्त कार्यविधिलाई अनुमोदन गर्दै छात्रवृत्ति व्यवस्थापनमा देखिएको कानुनी अस्पष्टता हटाउने प्रयास गरेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले शिक्षा तथा खेलकुद मन्त्रालय र अर्थ मन्त्रालयबाट सहमति प्राप्त भएपछि कार्यविधिलाई अन्तिम स्वीकृति दिएको जनाएको छ।

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार कार्यविधि पारित भएसँगै विगत केही समयदेखि देखिएको कानुनी रिक्तता र प्रक्रियागत अन्योललाई दीर्घकालीन रूपमा समाधान गर्ने आधार तयार भएको छ।

बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सहअध्यक्षता गरेकी थिइन् भने आयोगका उपाध्यक्ष प्रा. डा. श्रीकृष्ण गिरीसहित अन्य सदस्यहरूको पनि सहभागिता रहेको थियो।

सरकारले हालै नेपाल राजपत्रमा प्रकाशित ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३’ मार्फत राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ मा दफा ५४(ख) थप गरेपछि आयोगलाई छात्रवृत्ति तथा अनुदानसम्बन्धी आवश्यक निर्देशिका र कार्यविधि निर्माण गर्ने स्पष्ट कानुनी अधिकार प्राप्त भएको थियो।

यसअघि विधायन ऐन, २०८१ को दफा ३५ कार्यान्वयनमा आएपछि आयोगले विगतमा जारी गरेका निर्देशिका र कार्यविधिहरू स्वतः निष्क्रिय बनेका थिए। त्यसबाट छात्रवृत्ति व्यवस्थापन र कार्यान्वयन प्रक्रियामा कानुनी अन्योल उत्पन्न भएको थियो।

Read More

निःशुल्क स्वास्थ्य पोर्टलबाट १,२०० भन्दा बढी विपन्न नागरिक लाभान्वित

काठमाडौँ । विपन्न तथा असहाय नागरिकलाई स्वास्थ्य उपचारमा सहज पहुँच उपलब्ध गराउने उद्देश्यले सरकारले सञ्चालनमा ल्याएको ‘निःशुल्क स्वास्थ्य पोर्टल’ मार्फत सेवा लिनेको संख्या १,२०० नाघेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार पोर्टल सुरु भएपछि लक्षित वर्गका नागरिकले निःशुल्क उपचार सेवाबारे जानकारी प्राप्त गर्न र त्यसको उपयोग गर्न थालेका छन्।

मन्त्रालयले गत वैशाख ३ गतेदेखि देशभरका अस्पतालमा उपलब्ध निःशुल्क शैय्या तथा सेवासम्बन्धी विवरण सार्वजनिक गर्ने अनलाइन प्रणाली सञ्चालनमा ल्याएको थियो। संविधानले सुनिश्चित गरेको आधारभूत स्वास्थ्य सेवाको अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्ने उद्देश्यले यो प्रणाली सुरु गरिएको मन्त्रालयको भनाइ छ।

पोर्टलमा उपलब्ध पछिल्लो विवरणअनुसार देशभरका अस्पतालमा हाल २३ हजार ४५६ शैय्या उपलब्ध छन्। कानुनी व्यवस्थाअनुसार तीमध्ये १० प्रतिशत अर्थात् २ हजार ३५६ शैय्या विपन्न, असहाय तथा लक्षित वर्गका बिरामीका लागि निःशुल्क छुट्याइएको छ।

हाल निःशुल्क शैय्यामध्ये ३५४ शैय्यामा बिरामी उपचाररत छन् भने बाँकी २ हजार २ शैय्या तत्काल प्रयोगका लागि उपलब्ध रहेको मन्त्रालयले जनाएको छ। पोर्टलमार्फत देशभरका अस्पतालमा उपलब्ध शैय्या, निःशुल्क कोटा, प्रयोगमा रहेका शैय्या तथा खाली रहेका शैय्याको अद्यावधिक विवरण हेर्न सकिने व्यवस्था गरिएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले संविधान र कानूनले व्यवस्था गरेका स्वास्थ्य सुविधाबाट विपन्न नागरिकलाई वास्तविक रूपमा लाभान्वित गराउने लक्ष्यका साथ पोर्टल सञ्चालनमा ल्याइएको बताइन्। उनका अनुसार विगतमा निःशुल्क उपचारसम्बन्धी सूचना सहज रूपमा उपलब्ध नहुँदा लक्षित वर्गले पाउनुपर्ने सुविधा प्राप्त गर्न कठिनाइ हुने गरेको थियो।

मन्त्रालयले आगामी दिनमा अस्पतालहरूले उपलब्ध गराउने अन्य स्वास्थ्य सेवासम्बन्धी विवरण पनि पोर्टलमा समावेश गर्ने तयारी गरेको जनाएको छ। यसले सेवा प्रवाहलाई थप पारदर्शी र पहुँचयोग्य बनाउने अपेक्षा गरिएको छ।

नेपालको संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक सुनिश्चित गरेको छ। साथै, स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ अनुसार अस्पतालहरूले कुल शैय्याको १० प्रतिशत विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि निःशुल्क उपचारका लागि छुट्याउनुपर्ने व्यवस्था छ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार निःशुल्क उपचार व्यवस्थालाई प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउन आवश्यक कार्यविधि तथा डिजिटल प्रणाली विकास गरिएको हो। यसले सेवा प्राप्त गर्ने नागरिक र सेवा उपलब्ध गराउने अस्पताल दुवैलाई स्पष्ट मापदण्डअनुसार काम गर्न सहज बनाएको उनले बताए।

Read More

सम्बन्धित मन्त्री अनुपस्थित भएपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक सम्बन्धित मन्त्रीको अनुपस्थितिलाई लिएर उठेको प्रश्नपछि १५ मिनेटका लागि स्थगित गरिएको छ।

विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयगत शीर्षकमाथि छलफल चलिरहेका बेला सम्बन्धित मन्त्री बैठकमा उपस्थित नरहेको विषयमा सांसदहरूले ध्यानाकर्षण गराएका थिए। त्यसक्रममा सांसद गोपाल शर्माले संसद् नियमावलीअनुसार सम्बन्धित मन्त्रीको उपस्थितिबिनै सो मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथि छलफल अगाडि बढाउन नमिल्ने भन्दै आपत्ति जनाए।

सांसद शर्माको ध्यानाकर्षणपछि सभामुखले नियमावलीको व्यवस्थाबारे छलफल र आवश्यक समन्वयका लागि बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।

प्रतिनिधिसभामा हाल आगामी आर्थिक वर्षका लागि प्रस्तुत विनियोजन विधेयकमाथि मन्त्रालयगत बजेट तथा कार्यक्रमबारे विस्तृत छलफल जारी छ। यस्ता छलफलका क्रममा सम्बन्धित मन्त्रीको उपस्थितिलाई जवाफदेहिता र संसदीय उत्तरदायित्वसँग जोडेर हेरिने गरिन्छ।

Read More

परीक्षण उडानका क्रममा अमेरिकी बी–५२ बमवर्षक विमान दुर्घटना, आठ जनाको मृत्यु

काठमाडौँ । अमेरिकाको दक्षिणी क्यालिफोर्नियास्थित एडवाड्र्स एयर फोर्स बेसमा नियमित परीक्षण उडानका क्रममा अमेरिकी वायुसेनाको बी–५२ बमवर्षक विमान दुर्घटनाग्रस्त हुँदा आठ जनाको मृत्यु भएको छ। मृतकमध्ये बोइङ कम्पनीका दुई कर्मचारी पनि रहेका छन्।

स्थानीय समयअनुसार सोमबार बिहान ११:२० बजे विमान उडान भरेको केही समयमै दुर्घटनामा परेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्। दुर्घटनापछि विमानमा आगलागी हुँदा आकाशमा बाक्लो कालो धुवाँ फैलिएको थियो, जुन टाढासम्म देखिएको बताइएको छ।

एडवाड्र्स एयर फोर्स बेसका कर्नेल जेम्स हेय्सका अनुसार दुर्घटनामा सेना, सरकारी निकाय तथा सरकारी ठेकेदारसँग आबद्ध आठ जनाले ज्यान गुमाएका छन्। उनले घटनालाई अमेरिकी वायुसेना समुदायका लागि ठूलो क्षति भएको बताएका छन्।

अधिकारीहरूका अनुसार विमान एयर बेसभित्रकै रनवे क्षेत्रमा उडान भरेलगत्तै दुर्घटनामा परेको थियो। प्रारम्भिक मूल्याङ्कनले विमानमा सवार कसैको पनि जीवित उद्धार सम्भव नभएको देखाएको छ। मृतकका परिवारलाई औपचारिक जानकारी दिने प्रक्रिया जारी रहेकाले उनीहरूको नाम तत्काल सार्वजनिक नगरिएको जनाइएको छ।

दुर्घटनाग्रस्त बी–५२ विमान एयर बेसको रडार आधुनिकीकरण कार्यक्रमसँग सम्बन्धित परीक्षण कार्यमा संलग्न रहेको बताइएको छ। घटनापछि सार्वजनिक भएका प्रारम्भिक भिडियो तथा हवाई दृश्यहरूले दुर्घटनाको प्रभाव निकै गम्भीर रहेको संकेत गरेका छन्।

दुर्घटनाको कारणबारे अनुसन्धान जारी छ। प्रारम्भिक अनुसन्धान प्रतिवेदन तयार हुन करिब ३० दिन लाग्न सक्ने अनुमान गरिएको छ भने विस्तृत प्राविधिक विश्लेषण सम्पन्न गर्न छ महिनाभन्दा बढी समय लाग्न सक्ने अधिकारीहरूले बताएका छन्।

बोइङ कम्पनीले आफ्ना दुई कर्मचारी विमानमा सवार रहेको पुष्टि गर्दै प्रभावित परिवारसँग सम्पर्कमा रहेको जनाएको छ। यस्तै, क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवार तथा एडवाड्र्स एयर फोर्स बेस समुदायप्रति समवेदना प्रकट गरेका छन्।

दुर्घटनास्थलबाट प्राप्त हवाई दृश्यहरूमा आसपासका क्षेत्र जलेको र केही स्थानबाट अझै धुवाँ निस्किरहेको देखिएको छ। अनुसन्धान अधिकारीहरूले दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन प्राविधिक तथा सुरक्षा पक्षको विस्तृत अध्ययन गरिरहेका छन्।

Read More