काठमाडौँ । त्रिभुवन राजमार्गअन्तर्गत वीरगन्जको मुख्य सडक क्षेत्रमा सडक सीमाभित्र रहेका बाँकी घर तथा संरचना हटाउन सडक विभागले अन्तिम चेतावनी दिएको छ। विभागले पाँच दिनभित्र सम्बन्धित घरधनीले आफैं संरचना नहटाए कानुनी प्रक्रियाअनुसार डोजर प्रयोग गरी हटाइने जनाएको छ।
सडक डिभिजन कार्यालय हेटौंडाले मंगलबार सार्वजनिक सूचना जारी गर्दै सिरसिया मितेरी पुलदेखि बहुअरी गण्डक चोकसम्मको सडक खण्डमा सडक सीमा संरक्षण अभियानलाई निरन्तरता दिइने जानकारी दिएको हो। विभागका अनुसार यसअघि गरिएको अतिक्रमण हटाउने कार्यपछि पनि सडक सीमाभित्रका केही संरचना यथावत् रहेकाले थप कारबाहीको तयारी गरिएको छ।
गत वैशाख ६ र ७ गते सडक विभागले उक्त सडक खण्डमा केन्द्ररेखाबाट दायाँ–बायाँ २५–२५ मिटर क्षेत्रभित्र पर्ने करिब १ हजार २०० घर, भवन तथा अन्य संरचनामा डोजर चलाएर आंशिक रूपमा हटाउने काम गरेको थियो। त्यसपछि केही घरधनीले आफैं संरचना भत्काए पनि घण्टाघर, माइस्थान, आदर्शनगर हुँदै अलखियामठ चोकसम्मका अधिकांश भवन अझै हटाइएको छैन।
सडक डिभिजन कार्यालयले क्षतिग्रस्त तथा जोखिमयुक्त भवनमा बसोबास र व्यापार व्यवसाय सञ्चालन नगर्न पनि आग्रह गरेको छ। विभागले जारी गरेको सूचनामा यस्ता संरचनामा बसोबास वा व्यापार जारी राखेर कुनै अप्रिय घटना भए त्यसको जिम्मेवारी सम्बन्धित व्यक्तिमै रहने उल्लेख गरिएको छ।
सडक ऐन, २०३१ अनुसार सडक सीमाभित्र रहेका संरचना हटाउने अधिकार विभागलाई रहेकाले निर्धारित समयभित्र संरचना खाली गर्न सम्बन्धित पक्षलाई पुनः अनुरोध गरिएको छ। विभागले तोकिएको समयसीमा सकिएपछि सडक सीमा संरक्षण कार्यक्रमअन्तर्गत बाँकी संरचना हटाउने स्पष्ट संकेत दिएको छ।
उता, सडक विस्तार अभियानविरुद्ध मुख्य सडक क्षेत्रका घरधनीहरू भने निरन्तर आन्दोलनमा छन्। उनीहरूले सडक विस्तार कार्य तत्काल रोक्न तथा उक्त सडक खण्डलाई ‘शहरी मार्ग’ का रूपमा कायम गर्नुपर्ने माग राख्दै आएका छन्।
वीरगन्जको मुख्य व्यापारिक क्षेत्र समेटिएको यो सडक खण्डमा सडक विस्तारको विषय पछिल्ला महिनादेखि विवादको केन्द्रमा रहँदै आएको छ। विभागको पछिल्लो चेतावनीसँगै सडक विस्तार प्रक्रिया र स्थानीयको विरोधबीचको तनाव थप बढ्ने देखिएको छ।




