२०८३ असार ४

उरुग्वे र साउदी अरब बराबरीमा, समूह ‘एच’ का सबै टोलीको समान एक अङ्क

काठमाडौं। फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ मा उरुग्वे र साउदी अरबले बराबरी खेल्दै अंक बाँडेका छन्।

अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा आज बिहान सम्पन्न खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका हुन्। खेलको पहिलो हाफमा साउदी अरबले अग्रता बनाए पनि उरुग्वेले दोस्रो हाफमा गोल फर्काउँदै खेल बराबरीमा टुंग्यायो।

साउदी अरबका लागि ४१औँ मिनेटमा अब्दुल्लाह अलाम्रीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा प्राप्त उक्त अग्रता जोगाउने प्रयासमा रहेको साउदीविरुद्ध उरुग्वेले खेलको ८०औँ मिनेटमा बराबरी गोल फर्कायो। उरुग्वेका म्याक्सी अराजोले उत्कृष्ट फिनिसिङमार्फत टोलीलाई खेलमा फर्काएका थिए।

बाँकी समयमा दुवै टोलीले जित निकाल्ने प्रयास गरे पनि थप गोल हुन नसक्दा खेल १–१ को बराबरीमा समाप्त भयो।

यस नतिजासँगै समूह ‘एच’ को अंक तालिका रोचक बनेको छ। पहिलो चरणका खेल सम्पन्न हुँदा समूहका चारै टोलीले समान एक–एक अङ्क जोड्न सफल भएका छन्। यसअघि सोही समूहअन्तर्गत भएको अर्को खेलमा स्पेन र केप भर्डेले पनि १–१ को बराबरी खेलेका थिए।