२०८३ असार ४

प्रतिनिधिसभा बैठक आज बस्दै, आठ मन्त्रालयको बजेटमाथि छलफल हुने

काठमाडौं। संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। संघीय संसद सचिवालयका अनुसार बैठक बिहान ११ बजेबाट सुरु हुनेछ।

आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालय तथा निकायका बजेट विनियोजन शीर्षकमाथि छलफल गर्ने कार्यसूची तय गरिएको छ। कार्यसूचीअनुसार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय तथा रक्षा मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल हुनेछ।

यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपति कार्यालय तथा राष्ट्रपति कार्यालयसँग सम्बन्धित विनियोजन शीर्षकहरू पनि आजको बैठकमा छलफलका लागि प्रस्तुत गरिनेछन्।

बैठकमा विभिन्न सांसदहरूले सम्बन्धित मन्त्रालय तथा निकायको बजेटमाथि खर्च कटौतीका प्रस्तावसमेत पेश गर्ने कार्यसूची रहेको छ। संसद सचिवालयका अनुसार ११ जना सांसदले खर्च कटौती प्रस्ताव दर्ता गराएका छन्।