काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न स्वास्थ्यसम्बन्धी परिषद् तथा महत्वपूर्ण राष्ट्रिय स्वास्थ्य निकायहरूमा रिक्त रहेका पदाधिकारी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ।
मन्त्रालयले एक सूचना जारी गर्दै विभिन्न परिषद् तथा स्वास्थ्य संस्थाहरूमा नेतृत्व तहका रिक्त पदमा योग्य उम्मेदवारहरूबाट दरखास्त माग गरेको हो।
मन्त्रालयका अनुसार नेपाल आयुर्वेद चिकित्सा परिषद्मा अध्यक्ष र रजिस्ट्रार, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा सदस्य तथा सदस्य–सचिव, र नेपाल नर्सिङ परिषद्मा अध्यक्ष, उपाध्यक्ष र रजिस्ट्रार पदका लागि आवेदन खुलाइएको छ।
त्यसैगरी नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल फार्मेसी परिषद् र नेपाल मेडिकल काउन्सिलमा पनि अध्यक्ष तथा रजिस्ट्रार पदमा नियुक्तिका लागि आवेदन आह्वान गरिएको मन्त्रालयले जनाएको छ।
यसैगरी स्वास्थ्य क्षेत्रका दुई प्रमुख संस्थाहरू शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यकारी निर्देशक तथा स्वास्थ्य बीमा बोर्डमा अध्यक्ष र कार्यकारी निर्देशक पदका लागि पनि मन्त्रालयले इच्छुक तथा योग्य उम्मेदवारहरूलाई दरखास्त पेस गर्न आग्रह गरेको छ।





