काठमाडौं । कप्तान लियोनल मेस्सीको शानदार प्रदर्शनमा साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ अभियानको सुरुवात प्रभावशाली जितसहित गरेको छ। अमेरिकाको कान्सास सिटीमा बुधबार बिहान सम्पन्न समूह ‘जे’ अन्तर्गतको खेलमा अर्जेन्टिनाले अल्जेरियामाथि ३–० को सहज जित दर्ता गरेको हो।
जितसँगै अर्जेन्टिनाले महत्वपूर्ण तीन अंक बटुल्दै समूहको शीर्ष स्थान कब्जा गरेको छ। टोलीको जितमा मेस्सी एक्लैले तीन गोल गर्दै ह्याट्रिक पूरा गरे।
खेलको १७औं मिनेटमा पहिलो गोल गरेका मेस्सी भावुक देखिएका थिए। गोलपछि उनको अनुहारमा भावनात्मक क्षण झल्किएको थियो। त्यसपछि उनले ६०औं र ७६औं मिनेटमा थप दुई गोल गर्दै विश्वकप करिअरको पहिलो ह्याट्रिक पूरा गरे।
यो उपलब्धिसँगै मेस्सीले विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीहरूको सूचीमा नयाँ कीर्तिमान बराबरी गरेका छन्। विश्वकपमा आफ्नो कुल गोल संख्या १६ पुर्याउँदै उनले जर्मनीका पूर्व स्ट्राइकर मिरोस्लाभ क्लोजको नाममा रहेको कीर्तिमानसँग बराबरी गरेका हुन्।
अल्जेरियाविरुद्ध मैदान उत्रिएसँगै मेस्सीले विश्वकपमा छैटौं संस्करण खेल्ने पहिलो फुटबलर बन्ने गौरवसमेत हासिल गरे। सन् २००६ मा विश्वकप यात्रा सुरु गरेका उनले सन् २०१० बाहेकका पाँच फरक संस्करणमा गोल गर्न सफल भएका छन्।
चार वर्षअघि कतारमा आफ्नै कप्तानीमा अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाएका मेस्सीले २०२६ संस्करणको सुरुवात पनि सम्झनलायक प्रदर्शनमार्फत गरेका छन्। उनकाे उत्कृष्ट खेलसँगै अर्जेन्टिना उपाधि रक्षा अभियानमा बलियो दाबेदारका रूपमा देखिएको छ।




