२०८३ असार ३

देउवा दम्पतीको सहकार्य प्रतिबद्धता, पक्राउ अनुमति तत्काल नदिन आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा सहयोग गर्न तयार रहेको जनाउँदै राज्यका निकायहरूसँग सहकार्य गर्ने बताएका छन्। उनीहरूले हालको परिस्थितिलाई लिएर आफूहरूविरुद्ध राजनीतिक रूपमा गलत धारणा बनाउने प्रयास भइरहेको दाबी गर्दै तत्काल पक्राउ अनुमति जारी नगर्न आग्रह गरेका छन्।

उनीहरूले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र विशेष अदालतलाई पठाएको संयुक्त पत्रमा आफूहरू स्वास्थ्य उपचारका कारण विदेशमा रहेको र करिब दुई महिनाभित्र स्वदेश फर्किने योजना रहेको उल्लेख गरिएको छ।

पत्रमा उनीहरूले अनुसन्धानबाट भाग्ने वा उपस्थित नहुने कुनै मनसाय नभएको स्पष्ट पार्दै यस्ता गलत बुझाइले कानुनी प्रक्रिया प्रभावित हुन सक्ने चेतावनीसमेत दिएका छन्। साथै, कानुन र अदालतप्रतिको सम्मान आफूहरूको प्रमुख प्राथमिकता रहेको उनीहरूको भनाइ छ।

देउवा दम्पतीले फर्किएपछि सम्बन्धित निकायमा उपस्थित भई सम्पूर्ण आवश्यक विवरण उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। सार्वजनिक जीवनमा लामो समयदेखि संलग्न भएकाले कानुनअनुसार सम्पत्ति विवरण बुझाउँदै आएको उनीहरूको दाबी छ।

उनीहरूले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अधिकार क्षेत्रबारे प्रश्न उठाउँदै यस्तो प्रकृतिका विषयहरू मुख्यतः अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दायरामा पर्ने तर्क पनि अघि सारेका छन्।

पत्रमा पछिल्ला राजनीतिक घटनाक्रम, बुढानीलकण्ठस्थित निवासमा भएको आगजनी तथा त्यसपछि विकसित परिस्थितिलाई समेत उल्लेख गरिएको छ। सो घटनासम्बन्धी विभिन्न दाबीहरू अनुसन्धानबाट पुष्टि नभएको उनीहरूको भनाइ छ।

यसअघि अदालतबाट जारी भएको पक्राउ अनुमति प्रक्रियागत कारणले कार्यान्वयनमा रोकिएको र कानुनी प्रक्रिया पूरा गरेपछि मात्र अघि बढ्नुपर्ने अवस्था रहेको जनाइएको छ।

देउवा दम्पतीले आफूहरू फरार नभई चिकित्सकीय कारणले विदेशमा रहेको स्पष्ट गर्दै स्वदेश फर्किएपछि अनुसन्धानमा सक्रिय रूपमा सहभागी हुने अडान दोहोर्याएका छन्।