२०८३ असार ३

समस्याग्रस्त सहकारीमा कर्जा असुली र बचत फिर्ता तीव्र, जेठमा करोडौँ रुपैयाँ वितरण

काठमाडौं समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले जेठ महिनामा कर्जा असुली तथा बचत फिर्ता कार्यलाई तीव्र बनाएको छ। सहकारी ठगीबाट प्रभावित बचतकर्तालाई राहत दिने उद्देश्यसहित विभिन्न सहकारीबाट संकलित रकम पुनः वितरण गरिएको समितिले जनाएको छ।

समितिका अनुसार जेठ महिनामा १२ वटा समस्याग्रस्त सहकारीबाट १ करोड २० लाख ४६ हजार रुपैयाँ कर्जा असुली गरिएको छ। सो रकमबाट साना बचतकर्तालाई प्राथमिकता दिँदै ५९ लाख ४ हजार रुपैयाँ फिर्ता गरिएको हो।

१० हजार रुपैयाँभन्दा कम बचत भएका ८ वटा सहकारीका १ हजार ४५२ जना बचतकर्तालाई पूर्ण वा आंशिक रूपमा रकम फिर्ता गरिएको छ। साथै १२ सहकारीका १२२ जना बचतकर्ताको ५१ लाख ५१ हजार रुपैयाँ बराबरको बचत मिलान गरिएको समितिले जनाएको छ।

समितिका अनुसार १० हजार रुपैयाँभन्दा कम बचत रहेका साना बचतकर्ताको शतप्रतिशत फिर्ता गर्नुपर्ने १४ सहकारीमध्ये ६ वटामा प्रक्रिया पूरा भइसकेको छ भने बाँकीमा प्रमाणिकरण तथा फिर्ता प्रक्रिया जारी छ।

समस्याग्रस्त सहकारीमा सम्पत्ति व्यवस्थापन, कर्जा असुली र बचत फिर्तालाई व्यवस्थित बनाउन नयाँ कार्यविधि २०८३ लागू गरिएको समितिले जनाएको छ। सो कार्यविधिअनुसार संस्थागत पुनर्संरचना, सम्पत्ति खोजतलास तथा व्यवस्थापन कार्यलाई पनि अघि बढाइएको छ।

हाल करिब ४४ हजार बचतकर्ताले रकम फिर्ताका लागि निवेदन दिएका छन्, जसको चरणबद्ध रूपमा प्रमाणीकरण भइरहेको छ।

समितिले ऋणीहरूको पहिचान, सम्पत्ति रोक्का तथा विवरण संकलनलाई नियमित बनाउँदै लुकाइएको सम्पत्ति खोजीका लागि विशेष टोली परिचालन गरेको जनाएको छ। यसले सहकारी पीडितको रकम फिर्ता प्रक्रियामा गति आएको समितिको दाबी छ।