२०८३ असार ३

हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा ल्याइने

काठमाडौँ ।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले रुग्ण अवस्थामा रहेका हेटौँडा कपडा उद्योग र बुटवल धागो उद्योग यसै आर्थिक वर्षभित्र सञ्चालनमा ल्याइने बताएकी छन्।

प्रतिनिधि सभाको बुधबारको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत उद्योग मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री कुमारीले कपडा र धागो उद्योग पुनः सञ्चालनका लागि कपास खेतीलाई पनि सँगसँगै अघि बढाइने बताइन्।

उनका अनुसार रुग्ण उद्योगका रूपमा रहेका हेटौँडा कपडा उद्योगलाई प्राथमिकताका साथ सञ्चालनमा ल्याइनेछ। कपडा तथा धागो उद्योग र कपास खेतीलाई एकैसाथ अघि बढाइने उल्लेख गर्दै उनले यी उद्योगहरू यसै वर्ष सञ्चालनमा आउने दाबी गरिन्।

त्यसैगरी, पेट्रोलियम पदार्थमा इथानोल मिसावट गर्ने प्रक्रिया अघि बढिसकेको जानकारी पनि उनले दिइन्।