२०८३ असार ६

पार्टी नेतृत्वप्रति झलनाथ खनालको असन्तुष्टि: ‘जिम्मेवारीविहीन बनाएर खोरजस्तो अवस्था’

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भावुक पत्र लेख्दै पार्टीभित्र आफ्नो अवस्थाप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। उनले लामो समयदेखि कुनै जिम्मेवारी नपाएको भन्दै पार्टीभित्र आफूलाई ‘खोरजस्तो अनुभूति’ भएको टिप्पणी गरेका छन्।

पत्रमा खनालले एकता भएको करिब सात महिना बितिसक्दा पनि आफूलाई कुनै जिम्मेवारी नदिइएको उल्लेख गर्दै, यस्तो अवस्थामा एकतामा ल्याउनुको उद्देश्यबारे प्रश्न उठाएका छन्। उनले नेतृत्वले पार्टी हितअनुसार निर्णय गर्न नसकेको हो वा अन्य प्रभावमा परेर आफूलाई जिम्मेवारीबाट टाढा राखिएको हो भन्ने आशंका पनि व्यक्त गरेका छन्।

उनका अनुसार, पार्टी नेतृत्व विभिन्न गतिविधिमा सक्रिय रहे पनि आफूजस्ता वरिष्ठ नेतालाई जिम्मेवारीविहीन बनाइनु असन्तुष्टिको कारण बनेको हो। उनले व्यंग्यात्मक शैलीमा पार्टीमा आफ्नो भूमिकामाथि प्रश्न उठाउँदै, औपचारिक रूपमा मात्र सीमित गरिएको तर व्यवहारमा निष्क्रिय बनाइएको संकेत गरेका छन्।

खनालले आफ्नो राजनीतिक यात्रामा ठूला दलहरूको निर्माण, सञ्चालन र नेतृत्वमा खेलेको भूमिकाको स्मरण गराउँदै अहिलेको व्यवहारलाई अस्वाभाविक र निराशाजनक बताएका छन्।

त्यसैगरी उनले पार्टीका सहसंयोजक माधवकुमार नेपालप्रति पनि असन्तुष्टि जनाएका छन्। पार्टी एकताअघि देखिएका वैचारिक, संगठनात्मक र नैतिक समस्या समाधान नगरी गरिएको एकताले भविष्यमा त्यही कमजोरी दोहोरिन सक्ने चेतावनी उनले पहिल्यै दिएको उल्लेख गरेका छन्।