काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा सहभागी नहुने घोषणा गरेका छन्। रास्वपाका सभापति रवि लामिछानेको निमन्त्रणापछि पनि आफू कार्यक्रममा उपस्थित नहुने निर्णय साम्पाङले सार्वजनिक गरेका हुन्।
साम्पाङले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै निमन्त्रणाका लागि आभार व्यक्त गरे पनि समसामयिक राष्ट्रिय विषयमा रास्वपाको स्पष्ट धारणा नआएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन्। विशेषगरी प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिपछि पार्टीको आधिकारिक धारणा सार्वजनिक नभएको उल्लेख गर्दै उनले महाधिवेशनमा सहभागी हुन असहज भएको बताएका छन्।
रास्वपाले आफ्नो प्रथम महाधिवेशनका लागि विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू तथा प्रतिनिधिहरूलाई निमन्त्रणा गरेको छ। निमन्त्रणा पाउनेमा संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका नेताहरू पनि रहेका छन्।
महाधिवेशनमा विभिन्न दलका शीर्ष नेताहरूलाई शुभकामना मन्तव्यका लागि आमन्त्रण गरिएको र उनीहरूको सहभागिताको तयारी भइरहेको बताइएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा आयोजना हुँदैछ। महाधिवेशनबाट पार्टीको आगामी संगठनात्मक तथा राजनीतिक दिशा तय गर्ने अपेक्षा गरिएको छ।




