काठमाडौँ । उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गरेको अभियोगमा २,५५६ जना सवारीचालक कारबाहीमा परेका छन्। उक्त कारबाहीबाट राज्यकोषमा रु २२ लाख ३९ हजार राजस्व संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार कारबाहीमा परेकामध्ये १०६ जना मादक पदार्थ सेवन गरी सवारी चलाउने, १५४ जना नियमविपरीत राइड सेयरिङ गर्ने, १०७ जना ट्राफिक संकेत बत्ती उल्लङ्घन गर्ने तथा १८३ जना तीव्र गतिमा सवारी चलाउने रहेका छन्।
त्यसैगरी लेन अनुशासन उल्लङ्घन गर्ने ९७ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १०९ जना, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ९८ जना तथा यान्त्रिक अवस्था ठीक नभएका ३० जना सवारीचालक कारबाहीमा परेका छन्। अन्य विभिन्न सवारी नियम उल्लङ्घन गर्ने १,६७२ जनालाई समेत कारबाही गरिएको कार्यालयले जनाएको छ।




