काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानी नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय निगरानी निकाय फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई पुनः ग्रे लिस्टमा राखेको छ।
फ्रान्सको पेरिसमा आयोजित एफएटीएफको प्लेनरी तथा वर्किङ ग्रुप बैठकले नेपाललाई सम्पत्ति शुद्धीकरण र आतंकवादी लगानीको जोखिमयुक्त मुलुकको सूचीमा समावेश गर्ने निर्णय गरेको हो।
एफएटीएफ विश्वभर सम्पत्ति शुद्धीकरण र आतंकवादी गतिविधिमा हुने लगानी नियन्त्रणका लागि स्थापित अन्तरसरकारी निकाय हो। यसले जोखिमको अवस्थाअनुसार मुलुकहरूलाई ग्रे लिस्ट तथा ब्ल्याक लिस्टमा राख्दै आएको छ।
कुनै पनि मुलुकको अवस्था मूल्यांकन गर्दा एफएटीएफले प्रभावकारितासम्बन्धी ११ र प्राविधिकतर्फ ४० सूचकका आधारमा समीक्षा गर्ने गर्दछ।
यसअघि पनि नेपाल सन् २००८ मा एफएटीएफको ग्रे लिस्टमा परेको थियो। अहिले पुनः उक्त सूचीमा परेपछि नेपालको वित्तीय प्रणाली, अन्तर्राष्ट्रिय कारोबार तथा लगानी वातावरणमाथि थप निगरानी बढ्ने भएको छ।




