२०८३ असार ११

उपत्यकामा २४ घण्टामा २ हजारभन्दा बढी सवारी नियम उल्लङ्घन, १० लाखभन्दा बढी राजस्व संकलन

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार ७६ सवारीचालक कारबाहीमा परेका छन्। ट्राफिक नियम उल्लङ्घनका विभिन्न घटनामा कारबाही गर्दै राज्यकोषमा १० लाख ५३ हजार ५१० रुपैयाँ राजस्व संकलन भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कारबाहीमा पर्नेहरूमा मादक पदार्थ सेवन (मापसे) गरेका ८८ जना, नियम विपरीत राइड सेयरिङ सञ्चालन गर्ने ९३ जना, ट्राफिक संकेत बत्ती उल्लङ्घन गर्ने ११७ जना र तीव्र गतिमा सवारी चलाउने २२८ जना रहेका छन्।

त्यसैगरी अनुशासन उल्लङ्घन गर्ने १२९ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ५७ जना, सडक पेटीमा पार्किङ गर्ने ९० जना र एकतर्फी सडक नियम तोड्ने ८८ जनालाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ।

अन्य विभिन्न सवारी नियम उल्लङ्घन गर्ने १ हजार १८६ चालकसमेत कारबाहीको दायरामा आएका छन्।