२०८३ श्रावण २९

मुस्ताङमा जलवायु सम्मेलन, देशभरका ७५३ स्थानीय तहलाई निम्तो

काठमाडौं । जलवायु परिवर्तनका असर, चुनौती र अनुकूलनका विषयमा साझा धारणा बनाउन मुस्ताङको घरपझोङ गाउँपालिकाले आगामी भदौमा जलवायु सम्मेलन आयोजना गर्ने भएको छ। सम्मेलनमा सहभागी हुन गाउँपालिकाले देशभरका ७५३ वटै स्थानीय तहलाई पत्राचार गरेको छ।

गाउँपालिकाका अनुसार सम्मेलन भदौ ३० र ३१ गते मुस्ताङको सदरमुकाम जोमसोममा आयोजना हुनेछ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने उद्देश्यले पहिलोपटक जलवायु परिवर्तनसम्बन्धी सम्मेलन आयोजना गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले बताए।

सङ्घीय मामिला मन्त्रालयको समन्वयमा ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४५९ गाउँपालिकालाई सम्मेलनमा सहभागी हुन पत्राचार गरिएको छ।

सम्मेलनमा हिमाल, पहाड र तराईमा जलवायु परिवर्तनले पारेको प्रभाव, स्थानीय तहमा देखिएका विपद् तथा चुनौती र त्यसको न्यूनीकरणका उपायबारे छलफल हुनेछ। सम्मेलनबाट स्थानीय तहको साझा प्रतिबद्धतासहित ‘घरपझोङ घोषणापत्र २०८३’ जारी गर्ने तयारी गरिएको छ।

कालीगण्डकी नदी किनार, मुक्तिनाथ क्षेत्र र नीलगिरि हिमालको काखमा हुने सम्मेलनमार्फत जलवायु परिवर्तनका असरविरुद्ध स्थानीय तहको साझा आवाज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने उद्देश्य राखिएको गाउँपालिकाले जनाएको छ।

सम्मेलनका क्रममा जलवायु परिवर्तनका असर झल्काउने फोटो प्रदर्शनीसमेत आयोजना गरिनेछ। त्यसका लागि स्थानीय तहहरूलाई भदौ १५ गतेभित्र तस्बिर तथा घोषणापत्रमा समेट्नुपर्ने विषयसहितको मस्यौदा पठाउन आग्रह गरिएको छ।

गाउँपालिकाका अनुसार जलवायु परिवर्तनका कारण हिमपहिरो, हिमताल फुट्ने, बाढीपहिरो र नदी कटानजस्ता विपद्को जोखिम बढ्नुका साथै कृषि, पशुपालन, धर्म–संस्कृति र जैविक विविधतामा समेत असर परेको छ। हिमाली क्षेत्रमा असमान हिमपात, खानेपानीका मुहान सुक्ने, चरन क्षेत्र घट्ने र मानव–वन्यजन्तु द्वन्द्व बढ्ने समस्या देखिन थालेको गाउँपालिकाले जनाएको छ।

Category: Others