काठमाडौं । चितवनमा साउन महिनामा हालसम्म चार जनामा डेङ्गु र ३४ जनामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको छ। जनस्वास्थ्य कार्यालयका अनुसार वर्षायामसँगै दुवै रोगको जोखिम बढेकाले जिल्लाका स्थानीय तहसँगको समन्वयमा रोकथाम तथा सचेतना अभियान सञ्चालन भइरहेको छ।
चितवनका स्थानीय दुई जनामा डेङ्गु पुष्टि भएको छ। कालिका नगरपालिकाकी एक महिला र इच्छाकामना गाउँपालिकाका एक पुरुषमा सङ्क्रमण देखिएको हो। यस्तै, स्थानीय छ जनामा स्क्रब टाइफस पुष्टि भएको छ। भरतपुर महानगरपालिकाका पाँच जना र रत्ननगर नगरपालिकाका एक जनामा सङ्क्रमण देखिएको कार्यालयले जनाएको छ।
अन्य जिल्लाबाट उपचारका लागि चितवन आएका दुई जनामा डेङ्गु र २८ जनामा स्क्रब टाइफस पुष्टि भएको छ। यससँगै साउनमा चितवनमा अभिलेख भएका डेङ्गु सङ्क्रमितको सङ्ख्या चार र स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ३४ पुगेको हो।
जनस्वास्थ्य कार्यालयका अनुसार हालसम्म डेङ्गुको १७८ र स्क्रब टाइफसको २११ जनाको परीक्षण गरिएको छ। दुवै रोगका कारण हालसम्म चितवनमा कुनै मृत्यु नभएको भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले जानकारी दिए।
वर्षायाममा डेङ्गुको जोखिम बढ्ने भएकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको केसीले बताए। इच्छाकामना गाउँपालिकाबाट सुरु गरिएको अभियान अन्य स्थानीय तहमा समेत विस्तार गरिएको छ। अभियानमा स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, सुरक्षाकर्मी र जनप्रतिनिधिलगायत सहभागी छन्।
लामखुट्टेले फुल पार्न सक्ने स्थानमा पानी जम्न नदिन तथा घरआँगन र वरपरका टायर, गमला, भाँडाकुँडा लगायतका स्थान नियमित सफा राख्न आग्रह गरिएको छ। स्क्रब टाइफसबाट बच्न घरवरपर झाडी नराख्ने तथा घाँस, खेतबारी वा जंगलमा जाँदा शरीर ढाक्ने कपडा लगाएर किर्नाको टोकाइबाट जोगिन सुझाव दिइएको छ।
ज्वरो, टाउको दुख्ने, शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा शरीरमा बिमिरा देखिएमा तत्काल स्वास्थ्य संस्थामा परीक्षण गराउन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ।
गत आर्थिक वर्ष २०८२/८३ मा चितवनका २१६ जनामा डेङ्गु र ६२१ जनामा स्क्रब टाइफस पुष्टि भएको थियो। अन्य जिल्लाबाट उपचारका लागि आएका बिरामीसमेत जोड्दा डेङ्गुका २७४ र स्क्रब टाइफसका ८९३ सङ्क्रमित अभिलेखमा रहेका थिए। उक्त अवधिमा पनि दुवै रोगका कारण चितवनमा कुनै मृत्यु नभएको कार्यालयले जनाएको छ।
Category: Others




