२०८३ श्रावण २९

बाजुरामा पहिरोमा परी युवती बेपत्ता, दुई जना घाइते

काठमाडौं । बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा पहिरोमा परी एक युवती बेपत्ता भएकी छन् भने दुई जना घाइते भएका छन्। अविरल वर्षापछि आएको पहिरोले स्थानीय घरमा क्षति पुर्‍याउँदा घटना भएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोमा परी बेपत्ता हुनेमा त्रिवेणी नगरपालिका–९ की २० वर्षीया प्रतीक्षा थापा रहेकी छन्। पहिरोमा परेर स्थानीय धर्म थापा र धौलीदेवी रावल घाइते भएका छन्।

प्रहरीका अनुसार धर्म थापाको बायाँ खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ भने रावलको टाउको, खुट्टा र शरीरमा चोट लागेको छ। दुवै घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल मार्तडी ल्याइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नरेशबहादुर शाहीले जानकारी दिए।

अविरल वर्षापछि आएको पहिरोले स्थानीय धर्म थापा र कर्णबहादुर थापाको घर पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ। सोही क्रममा धर्म थापाकी छोरी प्रतीक्षा पहिरोमा पुरिएर बेपत्ता भएकी हुन्।

बेपत्ता प्रतीक्षाको खोजीका लागि प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको छ। खोजी तथा उद्धार कार्यमा सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीयवासीसमेत खटिएका छन्।