काठमाडौँ । रौतहटमा टिपरको अनियन्त्रित सञ्चालन, सडकको खराब अवस्था र लगातार भइरहेका दुर्घटनाप्रति असन्तुष्टि जनाउँदै स्थानीयवासी आन्दोलनमा उत्रिएका छन्।
गरुडा–समनपुर सडकखण्डअन्तर्गत चाँदी पुल नजिक सोमबार बिहानदेखि स्थानीयले सडक अवरुद्ध गर्दै चक्काजाम गरेका हुन्। बिहान ६ बजेदेखि सुरु भएको अवरोधका कारण दर्जनौँ सवारी साधन बाटोमै रोकिएका छन् भने यात्रुहरू गन्तव्यमा पुग्न सकेका छैनन्।
स्थानीयका अनुसार क्रसर उद्योगसँग जोडिएका टिपरहरूले क्षमताभन्दा बढी भार बोकेर नदीजन्य सामग्री ढुवानी गर्दा सडक बिग्रँदै गएको र दुर्घटनाको जोखिम बढेको छ। सम्बन्धित निकाय र पालिकाले बेवास्ता गरेको आरोपसमेत उनीहरूको छ।
यसअघि भएका दुर्घटनाहरूले स्थानीय आक्रोश अझ बढाएको छ। गत जेठ २७ गते टिपरको ठक्करबाट ३५ वर्षीय प्रमोद सहनीको मृत्यु भएको थियो भने असार २ गते भएको अर्को दुर्घटनामा पनि एक जनाले ज्यान गुमाएका थिए।
स्थानीयवासीले सडक मर्मत, टिपर व्यवस्थापन र दुर्घटना नियन्त्रणका लागि तत्काल कदम चाल्न माग गरेका छन्।




