२०८३ असार ११

वीरगञ्ज महानगरको नीति तथा कार्यक्रममा पूर्वाधारदेखि कृषि आधुनिकीकरणसम्म प्राथमिकता

काठमाडौँ । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा पूर्वाधार विकास, वन तथा वातावरण, विपद् व्यवस्थापन, आर्थिक तथा सामाजिक विकास र सुशासनलाई प्रमुख प्राथमिकतामा राखेको छ।

महानगरका कार्यवाहक प्रमुख इम्तियाज आलमले २०औँ नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगरलाई डिजिटल, सुशासनयुक्त, नागरिक–केन्द्रित सेवा प्रवाह भएको सहरका रूपमा विकास गर्ने लक्ष्य लिइएको बताए। उनले हरित तथा दिगो शहरी संरचना निर्माण गर्दै वीरगञ्जलाई उद्यमशीलता र लगानीको केन्द्र तथा अवसर सिर्जना गर्ने आर्थिक हबका रूपमा रूपान्तरण गर्ने योजना रहेको उल्लेख गरे।

नीति तथा कार्यक्रममा दिगो विकास लक्ष्यको स्थानीयकरण, आधुनिक शहरी पूर्वाधार विस्तार, सुरक्षित तथा व्यवस्थित बस्ती विकास, शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार, कृषि तथा उद्यम विकास, लगानी र पर्यटन प्रवर्द्धनलाई विशेष प्राथमिकतामा राखिएको छ। साथै सुशासन, वातावरण संरक्षण, विपद् व्यवस्थापन, सामाजिक सुरक्षा र समावेशी विकासलाई पनि जोड दिइएको छ।

महानगरले आन्तरिक आय वृद्धि, सेवा प्रवाहमा सुधार, प्रविधिमैत्री प्रशासन, नागरिक सहभागितामा आधारित विकास व्यवस्थापन र सार्वजनिक स्रोतको पारदर्शी तथा परिणाममुखी उपयोगलाई समेत प्राथमिकतामा राखेको छ।

कृषि क्षेत्रका सम्बन्धमा बोल्दै प्रमुख आलमले आधुनिक प्रविधिमा आधारित उत्पादनशील कृषि प्रणाली अवलम्बन गरिने बताए। गहुँ उत्पादन वृद्धि गर्न कृषकलाई ५० प्रतिशत अनुदानमा उन्नत बीउ वितरण कार्यक्रम निरन्तर सञ्चालन गरिने उनले जानकारी दिए।

त्यसैगरी जलवायु परिवर्तन र रासायनिक मलको अत्यधिक प्रयोगका कारण देखिएका कृषि जोखिम न्यूनीकरणका लागि ‘आकस्मिक बाली संरक्षण कार्यक्रम’ सञ्चालन गरिनेछ। कृषकलाई आधुनिक प्रविधिसँग जोड्न वर्षे र हिउँदे मिनीकिट वितरण तथा सहरी क्षेत्रमा च्याउ खेती प्रवर्द्धनका लागि च्याउको बीउ वितरण कार्यक्रमलाई पनि प्राथमिकता दिइएको छ।

शिक्षा क्षेत्रमा दिगो विकास लक्ष्यअनुसार गुणस्तरीय शिक्षा सुनिश्चित गर्न सबै बालबालिकालाई विद्यालय पहुँचमा ल्याउने र भर्ना दर शतप्रतिशत पुर्‍याउने लक्ष्य लिइएको छ। यसका लागि समन्वय, अनुगमन र मूल्याङ्कनलाई थप प्रभावकारी बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ।