२०८३ असार १२

वीरगञ्ज भन्सारको ११ महिनामा रु २.२१ खर्ब राजस्व संकलन, लक्ष्यको ८९ प्रतिशत

काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा रु २ खर्ब २१ अर्ब ७८ करोड राजस्व संकलन गरेको छ। कार्यालयले वर्षभरिमा रु २ खर्ब ४९ अर्ब १९ करोड संकलन गर्ने लक्ष्य लिएकोमा हालसम्म लक्ष्यको ८९ प्रतिशत मात्र पूरा भएको हो।

सूचना अधिकारी उदयसिंह विष्टका अनुसार गत वर्षको तुलनामा यस वर्ष राजस्व संकलन ९ प्रतिशतले वृद्धि भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा रु २ खर्ब ३ अर्ब ८१ करोड संकलन भएको थियो।

मासिक राजस्व संकलन (चालु वर्ष)

महिनाराजस्व
साउनरु १८ अर्ब ४४ करोड
भदौरु २० अर्ब ७४ करोड
असोजरु १९ अर्ब ९ करोड
कात्तिकरु १७ अर्ब ३३ करोड
मंसिररु २० अर्ब ८० करोड
पुसरु २० अर्ब २० करोड
माघरु १८ अर्ब ९२ करोड
फागुनरु १९ अर्ब ३४ करोड
चैतरु २२ अर्ब ८२ करोड
वैशाखरु २१ अर्ब ७४ करोड
जेठरु २२ अर्ब ३२ करोड

कार्यालयका अनुसार चालु वर्षमा वीरगञ्ज नाका हुँदै करिब रु ८ खर्ब ९० अर्ब मूल्य बराबरका वस्तु आयात भएका छन् भने रु ९९ अर्ब ६६ करोड बराबरका वस्तु निर्यात भएका छन्। गत वर्षको तुलनामा आयात र निर्यात दुवैमा वृद्धि देखिएको छ।

भन्सार विभागले वर्षभरिका लागि रु २ खर्ब ७३ अर्ब ३९ करोड राजस्व संकलनको लक्ष्य तोकेको छ।