काठमाडौँ । मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका–७ क्याम्पडाँडास्थित एक घरमा भएको चोरी घटनामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार असार १० गते दिउँसो कृष्णप्रसाद गौतमको घरमा कोही नभएको मौका छोपी पूर्वतर्फको ढोका फुटाएर चोरी गरिएको थियो। प्रारम्भिक अनुसन्धानमा करिब एक तोला सुन, २५.५ तोला चाँदी (१५ वटा सिक्का) र चार लाख रुपैयाँ नगद चोरी भएको खुलेको छ।
घटनापछि गरिएको अनुसन्धानका आधारमा रामेछापको हिमागंगा गाउँपालिका–४ स्थायी घर भई हाल हेटौंडा–१५ फारलाइन बस्दै आएका २५ वर्षीय मनोज पुलामी मगरलाई प्रहरीले पक्राउ गरेको हो।
उनको कोठामा गरिएको खानतलासीका क्रममा चाँदीका सिक्का, नगद, विभिन्न गरगहना तथा सुनजस्तो देखिने पहेँलो धातुका सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।
सोधपुछका क्रममा पक्राउ परेका पुलामी जेनजी आन्दोलनका क्रममा भीमफेदी कारागारबाट फरार भएका व्यक्ति रहेको पनि खुलेको प्रहरीले जनाएको छ।
बरामद सामग्रीसहित उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखी थप अनुसन्धान अघि बढाइएको छ।



