काठमाडौं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनबाट बाराबाट प्रतिनिधि सभामा निर्वाचित चार सांसदमध्ये दुई जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने दुई जना पराजित भएका छन्।
महाधिवेशनबाट बारा निर्वाचन क्षेत्र नं. ४ का सांसद रहबर अन्सारी र क्षेत्र नं. ३ का सांसद अरविन्द साह केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्। अन्सारी मुस्लिम समूहबाट तथा साह मधेसी समूहबाट विजयी भएका हुन्।
निर्वाचन परिणामअनुसार अन्सारीले प्रवासतर्फबाट प्राप्त २२ मतसहित कुल १,०४७ मत प्राप्त गरे भने साहले प्रवासतर्फबाट ६ मतसहित कुल ९७० मत प्राप्त गरे।
यता, बारा क्षेत्र नं. २ का सांसद चन्दन सिंह र क्षेत्र नं. १ का सांसद गणेश धिमाल भने केन्द्रीय सदस्य पदमा निर्वाचित हुन असफल भएका छन्। उनीहरूले भूगोलतर्फको कोटाबाट उम्मेदवारी दिएका थिए।




