२०८३ श्रावण १०

महाराष्ट्रमा भारी वर्षाको असर, मुम्बईमा विद्यालय र कलेज बन्द

काठमाडौं । भारतको महाराष्ट्र राज्यमा लगातार भइरहेको वर्षाका कारण जनजीवन प्रभावित भएको छ । मुम्बईसहित आसपासका क्षेत्रमा मंगलबार बिहानदेखि घना बादल, तीव्र हावाहुरी र निरन्तर वर्षा भएपछि यातायात तथा दैनिक गतिविधिमा असर परेको छ ।

मौसम विभागले मुम्बईका लागि खराब मौसमको चेतावनी जारी गरेको छ । भारी वर्षा र हावाहुरीको सम्भावनालाई मध्यनजर गर्दै मुम्बईका सबै सरकारी, निजी तथा महानगरपालिकाअन्तर्गतका विद्यालय र कलेजमा मंगलबार बिदा दिइएको छ ।

सोमबारदेखि जारी वर्षाका कारण मुम्बई तथा आसपासका जिल्लाका धेरै सडक जलमग्न भएका छन् । विभिन्न स्थानमा रुख ढलेका, पर्खाल भत्किएका तथा होर्डिङ बोर्डमा क्षति पुगेका घटनासमेत भएका छन् । दादरस्थित शिवाजी पार्क नजिकै एउटा रुख कारमाथि खसेको जनाइएको छ ।

मौसम विभागले जारी गरेको चेतावनीमा खराब मौसमका कारण सतर्कता अपनाउन आग्रह गरिएको छ । भारी वर्षाले यातायात सेवा प्रभावित हुनुका साथै विद्युत् आपूर्तिमा समेत असर पर्न सक्ने जनाइएको छ ।मुम्बईका लागि जारी गरिएको चेतावनी चार तहको प्रणालीअन्तर्गत तेस्रो स्तरको रहेको छ । यो पहेँलो चेतावनीभन्दा माथि र रेड अलर्टभन्दा तलको स्तर हो ।

समाचार एजेन्सी पीटीआईका अनुसार पहिरोका कारण अवरुद्ध भएको मुम्बई–पुणे एक्सप्रेसवे बाइपासको मुम्बईतर्फ जाने सडक करिब १८ घण्टापछि पुनः सञ्चालनमा ल्याइएको छ ।

यसैबीच, पुणे जिल्लामा भारी वर्षासँग सम्बन्धित विभिन्न दुर्घटनामा चार जनाको मृत्यु भएको छ । तीमध्ये एकै परिवारका तीन जनाको पहिरो र पर्खाल भत्किँदा मृत्यु भएको तथा अन्य दुई जना तीव्र पानीको बहावमा बगेर ज्यान गएको बताइएको छ ।