काठमाडौं। चीनको दक्षिणी क्षेत्रमा आएको मेसाक आँधीका कारण उत्पन्न भीषण बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ। चिनियाँ अधिकारीहरूले बाढीका कारण हालसम्म ३९ जनाको मृत्यु भएको पुष्टि गरेका छन्।
यसैबीच, ताइवान र चीनको पूर्वी तटीय क्षेत्रका बासिन्दा अर्को शक्तिशाली आँधी बाभीको सामना गर्न तयारी अवस्थामा रहेका छन्।
चिनियाँ अधिकारीहरूका अनुसार नान्निङ सहरको पूर्वी क्षेत्रमा रहेको बाँध भत्किँदा मात्रै २६ जनाको मृत्यु भएको छ। नान्निङका उपमेयर डिङ वेईले पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएका हुन्। ग्वाङ्सी क्षेत्रमा अझै ९ जना बेपत्ता रहेको बताइएको छ।
मेसाक आँधीका कारण गत शनिबारदेखि ग्वाङ्सी क्षेत्रमा असाधारण वर्षा भएको थियो। अत्यधिक वर्षापछि जलाशय फुट्नुका साथै बस्तीहरू डुबानमा परेका थिए। हजारौँ मानिस केही दिनसम्म घर तथा अन्य भवनमा फसेका थिए। यसअघि बाढीमा ६ जनाको मृत्यु भएको प्रारम्भिक जानकारी दिइएको थियो।
चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रका अनुसार ग्वाङ्सीका केही क्षेत्रमा १० देखि ४० सेन्टिमिटरसम्म वर्षा भएको छ भने सबैभन्दा प्रभावित क्षेत्रमा ९० सेन्टिमिटरभन्दा बढी वर्षा मापन गरिएको छ।
बाँध र जलाशय फुटेपछि आएको बाढीले धेरै सहर तथा बस्ती प्रभावित भएका छन्। उद्धारका लागि ड्रोनसहित करिब ५ हजार ७०० डुङ्गा परिचालन गरिएको छ। तीव्र पानीको बहाव र बाढीले ल्याएको फोहोरका कारण उद्धारकर्मीहरूले प्रभावित नागरिकसम्म पुग्न कठिनाइ भोगिरहेका छन्।
अहिलेसम्म करिब १ लाख ३० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। अधिकारीहरूका अनुसार बाढीको पानी घट्न थाले पनि आगामी दुई दिन केही क्षेत्रमा थप वर्षाको सम्भावना रहेको छ।
सबैभन्दा प्रभावित हेङ्झोउ सहरलगायत क्षेत्रमा हिलो र फोहोर हटाउने तथा सङ्क्रमण नियन्त्रणका लागि कीटाणुनाशक छर्किने काम भइरहेको छ। उपमेयर डिङ वेईका अनुसार सडक मर्मत जारी छ भने ६० हजारभन्दा बढी घरमा विद्युत् सेवा पुनः सञ्चालन गरिएको छ।




