काठमाडौँ । काठमाडौँको जडीबुटी क्षेत्रबाट यात्रुलाई हैरानी गरेको आरोपमा ३२ जना बिचौलिया पक्राउ परेका छन्। सार्वजनिक यातायातमार्फत उपत्यकाबाट पूर्वतर्फ जान लागेका यात्रुलाई जबर्जस्ती तानातान गर्ने, सवारीमा सिट मिलाइदिने भन्दै दबाब दिने तथा असहज अवस्था सिर्जना गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
जडीबुटी क्षेत्रमा रामेछाप, दोलखा र सिन्धुपाल्चोक जाने बसहरू सञ्चालन हुने बसपार्क रहेको छ। यसै स्थानबाट तराई तथा पूर्वी क्षेत्रतर्फ जाने अन्य साना सवारी साधनसमेत छुट्ने गरेका छन्।
प्रहरीका अनुसार केही बिचौलियाले यात्रुको झोला तान्ने, सवारीमा चढाउनका लागि दबाब दिने तथा महिलालगायत यात्रुमाथि अनुचित व्यवहार गर्ने गरेको गुनासो प्राप्त भएको थियो। यात्रुलाई दुःख दिने यस्ता गतिविधि रोक्न प्रहरीले निगरानी बढाउँदै आएको जनाएको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ परेका व्यक्तिमाथि आवश्यक अनुसन्धान भइरहेको छ। यसअघि प्रहरीले काठमाडौँको बल्खु क्षेत्रबाट पनि १७ जना बिचौलियालाई पक्राउ गरेको थियो।
प्रहरीले सार्वजनिक यातायात क्षेत्रमा यात्रुको सुरक्षा र सहज यात्राका लागि यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि निरन्तर कारबाही गरिने जनाएको छ।




