२०८३ श्रावण ११

सैन्य कारबाहीका लागि आफ्नो भूमि प्रयोग भए खाडी मुलुकमाथि जवाफी कदम चाल्ने दाबी: इरानको चेतावनी

काठमाडौं । इरानले खाडी क्षेत्रका देशहरूलाई आफ्नो भू–भाग वा सैन्य संरचना इरानविरुद्ध हुने कुनै पनि कारबाहीका लागि प्रयोग गर्न नदिन चेतावनी दिएको छ। तेहरानले त्यस्तो सहयोग भएमा सम्बन्धित पक्षलाई जवाफी कारबाहीको दायरामा ल्याइने जनाएको छ।

इरानको विदेश मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमार्फत यस्तो चेतावनी दिएको हो। बीबीसीका अनुसार पछिल्ला अमेरिकी आक्रमणपछि इरानले आफ्नो धारणा सार्वजनिक गर्दै अमेरिकाको कदमको आलोचना गरेको छ।

इरानी विदेश मन्त्रालयले अमेरिकी आक्रमणले हालै भएको युद्धविराम सम्झौताको उल्लंघन गरेको दाबी गरेको छ। मन्त्रालयका अनुसार अमेरिकी आक्रमणका क्रममा इरानका यातायात पूर्वाधार, माछा मार्ने डुङ्गा, मालवाहक जहाज, मौसमसम्बन्धी निकायका भवन तथा अन्य सरकारी संरचनाहरू प्रभावित भएका छन्।

इरानले ती आक्रमणलाई अन्तर्राष्ट्रिय कानुनविपरीतको गम्भीर कार्य भन्दै आलोचना गरेको छ। साथै, छिमेकी राष्ट्रहरूले आफ्नो भूमि वा सैन्य अखडा कुनै अर्को देशविरुद्ध प्रयोग गर्न नदिनुपर्ने दायित्व रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

तेहरानले इरानविरुद्ध हुने सैन्य गतिविधिमा प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्ने कुनै पनि देश वा स्थानलाई आफ्नो सेनाले लक्ष्य बनाउन सक्ने चेतावनी दिएको छ। यद्यपि, सम्बन्धित खाडी मुलुकहरूले यस विषयमा तत्काल कुनै प्रतिक्रिया दिएका छैनन्।