काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न जलन (बर्न) उपचार केन्द्र स्थापना गर्ने योजना अघि बढाउन निर्देशन दिएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले गम्भीर जलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने व्यवस्था मिलाउन आवश्यक योजना बनाउन निर्देशन दिएका हुन्।
उनले प्रमुख सरकारी अस्पतालमा रहेका बर्न वार्डलाई थप सुदृढ बनाउन तथा संघ, प्रदेश र स्वास्थ्य संस्थाबीच प्रभावकारी समन्वय गर्न पनि आग्रह गरे। गुणस्तरीय, सहज र नागरिकमैत्री स्वास्थ्य सेवा सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले अस्पतालको सरसफाइ, सेवा प्रवाह सुधार, डिजिटल प्रविधिको प्रयोग र सुशासनमा विशेष ध्यान दिन निर्देशन दिए।
प्रधानमन्त्री शाहले आर्थिक रूपमा कमजोर, विपन्न तथा असहाय नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाउन निजी अस्पतालले उपलब्ध गराउनुपर्ने सहुलियतपूर्ण ओपिडी सेवाको प्रभावकारी कार्यान्वयन गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिए।
छलफलमा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूले चिकित्सा शिक्षाको गुणस्तर सुधार, विशेषज्ञ स्वास्थ्य सेवा विस्तार, दक्ष जनशक्ति व्यवस्थापन, अनुसन्धान प्रवर्द्धन, डिजिटल स्वास्थ्य प्रणाली र पूर्वाधार विकासका विषयमा सुझाव प्रस्तुत गरेका थिए।
उनीहरूले केही स्वास्थ्य प्रतिष्ठानको जग्गा अतिक्रमणका कारण संस्थागत विकासमा परेको असरबारे समेत प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। प्रधानमन्त्री शाहले कानुनी प्रक्रियामार्फत समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्।




