काठमाडौं । तमिलनाडुका मुख्यमन्त्री सी. जोसेफ विजयले सरकारी कामका लागि घूस माग्नेविरुद्ध कडा रूपमा उभिन नागरिकलाई आग्रह गरेका छन्।
करुरमा आयोजित सार्वजनिक सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री विजयले आफ्नो सरकारले भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति लिएको बताए। उनले कुनै पनि सरकारी कर्मचारी वा अधिकारीले घूस मागेमा नडराई त्यसको विरोध गर्न र अस्वीकार गर्न नागरिकलाई आग्रह गरे।
विजयले सरकारी कार्यालयमा हुने अनियमितता नियन्त्रणका लागि सुधारका कदम अघि बढाइएको दाबी गर्दै भ्रष्टाचारसम्बन्धी प्रमाण उपलब्ध गराउने नागरिकलाई प्रोत्साहन गर्ने संयन्त्र निर्माणको तयारी भइरहेको जानकारी दिए।
चलचित्र क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका विजयले आफ्नो प्रशासनलाई पारदर्शी र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गर्दै शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र युवा सशक्तीकरणलाई प्राथमिकतामा राखेको बताएका छन्।
करुर भ्रमणका क्रममा उनले सन् २०२५ मा भएको भागदौड घटनामा ज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई सहयोग गर्ने प्रतिबद्धता पनि दोहोर्याए।




