काठमाडौं। नेपाल पर्यटन बोर्डको सञ्चालक समितिमा खुला प्रतिस्पर्धामार्फत पाँच जना नयाँ सदस्य नियुक्त भएका छन्। मङ्गलबार गरिएको नियुक्तिअनुसार खुमबहादुर सुवेदी, सन्तोष पोखरेल, श्रीजना केसी, पेम्बा शेर्पा र डा. शोभिता श्रेष्ठ ढकाल बोर्डको सञ्चालक समितिमा समावेश भएका हुन्।
पर्यटन ऐन तथा प्रचलित कानुनी व्यवस्थाअनुसार गठित बोर्ड सदस्य छनोट समितिले खुला आवेदन प्रक्रियामार्फत प्राप्त निवेदनहरूको मूल्याङ्कन गरी उनीहरूलाई नियुक्त गरेको जनाएको छ। यसपटक बोर्ड सदस्यका लागि देशभरबाट करिब एक हजार १०० जनाको आवेदन परेको थियो।
बोर्डका अनुसार आवेदकहरूको शैक्षिक योग्यता, व्यावसायिक अनुभव, पर्यटन क्षेत्रमा पुर्याएको योगदान, नेतृत्व क्षमता तथा समग्र दक्षतालाई आधार बनाएर अन्तिम छनोट गरिएको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन क्षेत्रको नीति निर्माणलाई प्रभावकारी बनाउने, नेपालको पर्यटन गन्तव्यको अन्तर्राष्ट्रिय प्रवर्द्धन गर्ने, लगानी आकर्षित गर्ने तथा सार्वजनिक–निजी साझेदारीलाई थप सुदृढ बनाउने उद्देश्यका साथ खुला र पारदर्शी प्रक्रियाबाट सदस्य चयन गरिएको जनाएको छ।
नेपाल पर्यटन बोर्डले नवनियुक्त सदस्यहरूको अनुभव र नेतृत्वले नेपालको पर्यटन क्षेत्रको दिगो विकास, अन्तर्राष्ट्रिय प्रवर्द्धन तथा निजी क्षेत्रसँगको सहकार्य विस्तारमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।




