२०८३ श्रावण १०

युगान्डामा स्कुल बस दुर्घटना, २० विद्यार्थी सहित २१ जनाको मृत्यु

काठमाडौं । पूर्वी युगान्डामा भएको स्कुल बस दुर्घटनामा २० जना विद्यार्थी सहित २१ जनाको मृत्यु भएको छ। दुर्घटना काप्चोर्वा जिल्लाको चेकवाटित गाउँमा भएको हो।

युगान्डाको ट्राफिक तथा सडक सुरक्षा निर्देशनालयका प्रवक्ता माइकल कानानुराका अनुसार राजधानी कम्पालास्थित किङ डेभिड जुनियर स्कुलका विद्यार्थी बोकेको बस दुर्घटनामा परेको थियो।

प्रारम्भिक विवरणअनुसार विद्यार्थीहरू काप्चोर्वास्थित सिपी फल्सको शैक्षिक भ्रमणमा गएका थिए। भ्रमण सकेर फर्कने क्रममा चालकले बस नियन्त्रणमा लिन नसक्दा दुर्घटना भएको बताइएको छ।

सडकबाट चिप्लिएको बस सडक छेउमा रहेको ठूलो ढुङ्गामा ठोक्किएपछि दुर्घटना भएको र त्यसबाट ठूलो मानवीय क्षति भएको कानानुराले जानकारी दिएका छन्।

दुर्घटनाको कारण यकिन गर्न प्रहरीले अनुसन्धान सुरु गरेको छ। घटनाबारे थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने जनाइएको छ।