काठमाडौँ । आन्तरिक राजस्व कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२/८३ मा ४ अर्ब ३० करोड ६१ लाख १९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
कार्यालयका अनुसार उक्त रकम वार्षिक लक्ष्यको ८५.२१ प्रतिशत हो । सो अवधिका लागि कार्यालयले ५ अर्ब ५ करोड ३३ लाख ६१ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो ।
सङ्कलित राजस्वको विवरण:
| राजस्व शीर्षक | सङ्कलित रकम |
| आयकर | २ अर्ब ३८ करोड ८१ लाख ५ हजार रुपैयाँ |
| मूल्य अभिवृद्धि कर (भ्याट) | १ अर्ब १८ लाख ६६ हजार रुपैयाँ |
| अन्तःशुल्क | ७७ करोड २६ लाख ९८ हजार रुपैयाँ |
| अन्य राजस्व | १४ करोड ३४ लाख ५१ हजार रुपैयाँ |
| कुल राजस्व सङ्कलन | ४ अर्ब ३० करोड ६१ लाख १९ हजार रुपैयाँ |
कार्यालयका अधिकृत उपेन्द्र पुनका अनुसार उक्त राजस्व सङ्कलन अघिल्लो आर्थिक वर्षको तुलनामा ८.९३ प्रतिशतले बढी हो ।
करिब १ लाख करदाता रहेको आन्तरिक राजस्व कार्यालय तुलसीपुरको कार्यक्षेत्रमा दाङसहित प्यूठान, रोल्पा, सल्यान, रुकुमपूर्व र रुकुमपश्चिम जिल्ला रहेका छन् ।
जेनजी आन्दोलनका क्रममा कार्यालय भवन, सवारीसाधन तथा केही कागजातमा क्षति पुगे पनि सेवा प्रवाह भने निरन्तर रहेको कार्यालयले जनाएको छ । केही समय तुलसीपुर उद्योग वाणिज्य सङ्घको भवनबाट सेवा दिएको कार्यालयले हाल त्रिसिद्धेश्वर मन्दिरको धर्मशाला भाडामा लिएर सेवा सञ्चालन गरिरहेको छ ।
करदाताको क्षमता अभिवृद्धिका लागि कार्यालयले गत आवमा विभिन्न १८ स्थानमा करसम्बन्धी सचेतना तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको थियो ।
गत आर्थिक वर्षमा कार्यालयबाट ४ हजार २९५ जनाले व्यावसायिक स्थायी लेखा नम्बर (प्यान), २८ हजार ३८० जनाले व्यक्तिगत स्थायी लेखा नम्बर र ४ हजार ९२२ जनाले अन्तःशुल्क इजाजतपत्र दर्ता तथा नवीकरण गरेको कर अधिकृत पुनले जानकारी दिए ।




