काठमाडौँ । नेपाली सेयर बजार मंगलबार पनि सकारात्मक देखिएको छ। अघिल्लो दिन ४१.७० अंकले बढेको नेप्से परिसूचक मंगलबार थप ७.२५ अंकले वृद्धि हुँदै २ हजार ७२६.४९ विन्दुमा पुगेको हो।
नेप्से परिसूचक सामान्य अंकले बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा उल्लेख्य वृद्धि भएको छ। सोमबार ५ अर्ब ५१ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा मंगलबार कारोबार रकम बढेर ६ अर्ब ६७ करोड १० लाख १७ हजार ९७१ रुपैयाँ पुगेको छ।
यस दिन ३४३ वटा कम्पनीका १ करोड ४९ लाख २४ हजार ३०२ कित्ता सेयर किनबेच भएका छन्।
कारोबार भएका कम्पनीमध्ये एभरेष्ट कलर लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै १४.९८ प्रतिशतले वृद्धि भएको छ। कारोबार रकमका आधारमा रिडी पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको ५५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आँखुखोला जलविद्युत कम्पनीको ३१ करोड रुपैयाँ, रिलायन्स स्पिनिङ मिल्सको २७ करोड रुपैयाँ तथा हिमालयन रिइन्स्योरेन्स र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको समान २२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
मंगलबार कारोबारमा आएका कम्पनीमध्ये १०३ वटाको सेयर मूल्य बढेको छ भने १६२ वटा कम्पनीको मूल्य घटेको छ। १२ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।
समूहतर्फ पाँच वटा उपसमूहको सूचक वृद्धि भएको छ भने बाँकी समूह नकारात्मक देखिएका छन्। बैंकिङ, उत्पादन तथा प्रशोधन, लगानी, अन्य र व्यापार समूहका उपसमूह सूचक सकारात्मक रहेका छन्।
